Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

निर्माणाधीन गोदामको छाना भत्किँदा ५ जनाको मृत्यु, ४० भन्दा बढी मजदुर फसेको आशंका


कोलकाता । भारतको पश्चिम बंगालस्थित कोलकातामा निर्माणाधीन गोदामको छाना भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी मजदुर भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कोलकाताको तारातला प्रहरी क्षेत्रअन्तर्गत रहेको एक ट्रान्सपोर्ट डिपोमा निर्माणाधीन गोदामको छाना अचानक भत्किएपछि ठूलो दुर्घटना भएको हो । दुर्घटनाका बेला दर्जनौं मजदुर निर्माण तथा ढलानको काममा संलग्न थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार गोदामको माथिल्लो भाग एक्कासि भत्किँदा फलामका भारी संरचना र कंक्रिटका स्ल्याब मजदुरमाथि खसेका थिए । घटनापछि क्षेत्रमा भागदौड मच्चिएको थियो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेका थिए । उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन् । केही स्थानीय बासिन्दाले भग्नावशेषभित्रबाट मजदुरहरूको आवाज सुनिएको दाबी गरेका छन् ।

अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते मजदुरहरूलाई उद्धार गरी नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रशासनका अनुसार ४० देखि ४५ जनासम्म मजदुर भग्नावशेषमा फसेको हुन सक्ने अनुमान गरिएको छ । यस कारण मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।
दुर्घटनापछि निर्माणस्थलको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ । निर्माण कार्यका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ ।

स्थानीयवासीहरूले मंगलबार परेको भारी वर्षाका कारण निर्माणाधीन संरचना कमजोर बनेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने अधिकारीहरूले बताएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट