सरकारलाई सुकुम्बासीको चेतावनी- स्थायी बसोबास नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौं
काठमाडौं । सरकारले विस्थापित गरेर होल्डिङ सेन्टरमा राखेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था नगरे आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका पीडितहरूले सरकारलाई सरोकार पत्र बुझाउँदै आफूहरूलाई विस्थापित गरिएको दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनबारे कुनै स्पष्ट जानकारी नदिइएको गुनासो गरेका छन् ।
पत्रमा आफूहरूलाई सुरुमा १५ दिनका लागि अस्थायी रूपमा राखिएको र ६० दिनभित्र स्थायी समाधान गरिने आश्वासन दिइएको उल्लेख छ । तर, हालसम्म कहाँ, कहिले र कसरी व्यवस्थापन गरिने भन्नेबारे सरकार मौन रहेको उनीहरूको भनाइ छ ।
पीडितहरूका अनुसार गत ९ असारमा सरकारी निकायका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा पुगेर प्रतिपरिवार २५ हजार रुपैयाँ राहत लिएर १२ असारभित्र होल्डिङ सेन्टर छोड्न सूचना दिएका थिए । उनीहरूले उक्त प्रस्तावलाई दीर्घकालीन समाधान नभएको भन्दै अस्वीकार गरेका छन् । सरोकार पत्रमार्फत पीडितहरूले पाँचबुँदे माग अघि सारेका छन् ।
उनीहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन र प्रमाणीकरण गरी वास्तविक पीडितहरूको पहिचान गर्न माग गरेका छन् । साथै, जबर्जस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, स्थायी व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा-सुविधा उपलब्ध गराउन वा बसोबासको वैकल्पिक स्थान देखाउन सरकारसँग आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । पीडितहरूले स्थायी विकल्प नदिई होल्डिङ सेन्टरबाट बाहिर निकाल्ने प्रयास भए आफूहरूलाई अन्यत्र बस्ने ठाउँ नभएकाले डोजर चलाएर हटाइएको पुरानै स्थानमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया