Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

जर्मनीलाई हराउँदै इक्वेडर अन्तिम १६ मा, आइभोरी कोस्ट पनि नकआउट चरणमा


काठमाडौं । न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा इक्वेडरले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिक्न सकेन। नवौँ मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काए।बराबरीमा रहेको खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गरेपछि इक्वेडरले महत्वपूर्ण जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गर्‍यो।

समूह ‘ई’ अन्तर्गतकै अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। आइभोरी कोस्टका लागि निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।यो हारसँगै एक अंकमा सीमित रहेको कुरासाओ भने समूह चरणबाटै बाहिरिएको छ।

समूह चरणका खेल समाप्त हुँदा जर्मनीले ६ अंकसहित समूह विजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको छ। समान ६ अंक रहेको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बनेको छ।

जर्मनीमाथि जित निकाल्दै ४ अंक जोडेको इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट