Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ


रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको नीति तथा कार्यक्रम जनमुखी नभएको आरोप लगाएका छन्।

मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँगको अन्तरक्रियामा बोल्दै घिसिङले पेट्रोलियम पदार्थको खपत घटाउन र स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्नु सरकारको गलत नीति भएको बताए।उनले विद्युतीय गाडीलाई प्रोत्साहन गर्न सहुलियत र सुविधा आवश्यक रहेको उल्लेख गर्दै सरकारले त्यसको विपरीत कदम चालेको टिप्पणी गरे।

शिक्षा र स्वास्थ्य क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयलाई समेत उनले जनविरोधी निर्णयको संज्ञा दिए। उनका अनुसार यस्तो नीति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्रको भावना विपरीत पनि रहेको छ। ‘प्रतिशत जति नै भए पनि यो नीतिगत प्रश्न हो,’ उनले भने।

घिसिङले वर्तमान सरकारका नीति तथा कार्यक्रम श्रमिकमैत्री नभएको दाबी गर्दै श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि हुन नसक्नुले सरकार श्रमिकको हितमा नरहेको संकेत गर्ने बताए।उनले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट हेरफेरको आरोप लागेपछि राजीनामा दिनुपरेको प्रसंग स्मरण गर्दै अहिलेका अर्थमन्त्रीमाथि पनि बजेटका दरहरू परिवर्तन गरिएको चर्चा सार्वजनिक रूपमा भइरहेको उल्लेख गरे।

सरकारले नागरिकमा विश्वास र आशा जगाउन नसकेको उनको भनाइ थियो। नागरिकमा आत्मविश्वास अभिवृद्धि नभएसम्म देशमै बसेर केही गरौं भन्ने वातावरण निर्माण हुन नसक्ने उनले बताए।घिसिङले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि सरकारको प्राथमिकता नागरिकको विश्वास जित्ने र उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने हुनुपर्नेमा जोड दिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट