भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते
भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार गएको दुई शक्तिशाली भूकम्पपछि जनधनको क्षति बढ्दै गएको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने हजारौँ मानिस घाइते भएका छन्।
भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चका अनुसार मुख्य भूकम्पपछि २० भन्दा बढी पराकम्प रेकर्ड गरिएका छन्, जसले प्रभावित क्षेत्रमा त्रासको वातावरण कायम राखेको छ।राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार हालसम्म ३ हजार ३६० जना घाइते भएका छन्। साथै, सयौँ मानिस अझै पनि उद्धारको पर्खाइमा रहेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प एक मिनेटभन्दा कम समयको अन्तरमा आएका थिए, जसका कारण व्यापक क्षति भएको हो।भूकम्पबाट ज्यान जोगाएकी मिकाएला ओभेलारले घटनाको क्षणलाई अत्यन्त भयावह रहेको बताएकी छन्। उनका अनुसार सार्वजनिक बिदाका कारण अधिकांश परिवार घरमै रहेका बेला लगातार दुई शक्तिशाली भूकम्पले जनजीवन अस्तव्यस्त बनाएको थियो।
‘पहिलो भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै दोस्रो, अझ शक्तिशाली धक्का आयो। जमिन निरन्तर हल्लिरह्यो, गाडीका अलार्म बजिरहेका थिए र मानिसहरू ज्यान जोगाउन दौडिरहेका थिए। त्यो दृश्य कुनै भयावह चलचित्रभन्दा कम थिएन,’ उनले भनिन्।प्रभावित क्षेत्रमा अहिले खाद्यान्न आपूर्ति, विद्युत्, खानेपानी र इन्टरनेट सेवामा गम्भीर समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
राजधानी नजिक रहेको देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल माइकेटिया सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ठूलो क्षति पुगेको छ। विमानस्थल अस्थायी रूपमा बन्द गरिएपछि सबै व्यावसायिक उडानहरू रद्द गरिएको जनाइएको छ।अधिकारीहरूका अनुसार हालसम्म १७२ जना भग्नावशेषमुनि फसेका छन् भने ३ हजार ७ जना विस्थापित भएका छन्। भूकम्पका कारण ३८३ वटा भवनमा क्षति पुगेको छ, जसमा १३ अस्पताल र २५ व्यापारिक केन्द्रसमेत रहेका छन्। यसबाहेक, एक हजारभन्दा बढी अन्य संरचनामा विभिन्न स्तरको क्षति पुगेको बताइएको छ।शुक्रबार दिउँसोसम्म विभिन्न देशबाट ८७१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी राहत तथा उद्धार कार्यमा सहयोग गर्न भेनेजुएला पुगेका छन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सबैभन्दा बढी प्रभावित ला ग्वाइरा राज्यमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र सुरक्षा व्यवस्था कडा पार्न सैनिक नियन्त्रण लागू गरिएको घोषणा गरेकी छन्।
उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया