केयरगिभर प्रमाणपत्रमा छानबिन कडाइ, नक्कली भेटिए कारबाहीको चेतावनी
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि विस्तृत छानबिन सुरु गरेको छ। तालिम नै नलिई प्रमाणपत्र बनाउने र पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गुनासो बढेपछि विभागले प्रमाणपत्रको सत्यता परीक्षण अघि बढाएको हो।
इजरायलले हालै २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो। आवेदन प्रक्रियामा सहभागी हुन अंग्रेजी भाषाको स्पिकिङमा ‘बी–वान’ तह उत्तीर्ण अनिवार्य गरिएको थियो। उक्त परीक्षामा १५ हजार ६ सय २६ जनाले सहभागिता जनाए पनि केवल १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका थिए।
त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत सञ्चालन गरिएको उक्त परीक्षामा न्यून उत्तीर्ण दर देखिएपछि विभागले उनीहरूले पेस गरेका केयरगिभर तालिम प्रमाणपत्रसमेत शंकाको घेरामा राख्दै छानबिन थालेको हो।
विभागले जेठ २० गते सूचना जारी गर्दै सीटीईभीटी, एनएभीटी तथा विभागमा दर्ता भएका सबै तालिम प्रदायक संस्थाबाट हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विस्तृत विवरण माग गरेको थियो। संस्थाहरूले नाम, ठेगाना, तालिम अवधि र प्रमाणपत्र जारी मिति सहितका विवरण बुझाइसकेका छन्, जसको अहिले प्रमाणीकरण भइरहेको विभागले जनाएको छ।
तर केही तालिम संस्थाले छोटो अवधिमै अस्वाभाविक रूपमा ठूलो संख्यामा प्रशिक्षार्थीलाई तालिम दिएको विवरण बुझाएपछि त्यसबारे थप अनुसन्धान सुरु गरिएको छ।
यसअघि पनि इजरायल रोजगारीका क्रममा नक्कली केयरगिभर प्रमाणपत्र प्रयोग भएको भेटिएपछि विभागले ५०० भन्दा बढी आवेदन रद्द गरेको थियो। त्यस क्रममा केही संस्थाले बिना तालिम वा अपुग तालिमलाई पूरा भएको देखाएर प्रमाणपत्र बिक्री गरेको तथ्यसमेत सार्वजनिक भएको थियो।
विभागले तालिम नलिई झुट्टा विवरण पेस गर्ने आवेदक तथा नक्कली प्रमाणपत्र जारी गर्ने संस्था वा व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।
प्रवक्ता बिन्दा आचार्यका अनुसार न्यूनतम तीन महिनाको तालिम पूरा नगरी आवेदन दिन पाइँदैन। तालिम नै नलिई वा गलत विवरण पेस गर्ने तथा झुट्टा प्रमाणपत्र जारी गर्ने कार्यलाई सरकारी निकायमा झुट्टा कागजात पेस गरेको अभियोगमा कारबाही अघि बढाइनेछ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया