दहीको राजा जुजु धौको माग बढ्दो, परम्परागत रुपमा यसरी बनाइन्छ दही
दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो ।
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ । अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन् ।
भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैजुले आज एकै दिनमा एक लाख लिटर दही भक्तपुरबाट बिक्री भएको बताए। उनले भने, “आजको दिन हामी दही व्यवसायीलाई भ्याइनभ्याइ छ, आज मध्याह्नसम्ममा अधिकांश पसलमा दही सकिसक्यो । माग धेरै छ, मेसिनमा उत्पादन गरे जस्तो होइन माटोको कतारोमा परम्परागत शैलीमा दही बनाउन गाह्रो हुन्छ, आज एक दिनमा कतारोका दही मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको छ ।”
भक्तपुरमा सङ्घमा आबद्ध जुजु धौ उत्पादन गर्ने ४९ व्यवसायी छन् । त्यसबाहेक सङ्घमा आबद्ध नभई दही उत्पादन गर्ने र खुला दही उत्पादन तथा बिक्री गर्ने व्यवसायीको सङ्ख्या त्योभन्दा बढी रहेको व्यवसायी बताउँछन् । कतारोको जुजु धौ र खुला दही गरी आज एकै दिनमा भक्तपुरबाट करिब एक लाख लिटरभन्दा बढी दही बिक्री हुने व्यवसायी बताउँछन् ।
दैनिक २५ हजार लिटर दूध जुजु धौ बनाउनकै लागि भक्तपुर आयात गर्ने गरेको बताउँदै सङ्घका अध्यक्ष सैजुले आजकै दिनका लागि दोब्बर दूध आयात गरिएको बताए । एक लिटरदेखि पाँच लिटरसम्म माटोको भाँडामा बनाउने दही आज प्रतिलिटर रु २५० मा बिक्री भएको छ ।
उनले भने, “दहीको माग अत्यधिक छ, हिजोदेखि नै बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौँ, आज बिहानैदेखि पसल पसलमा दही लिन आउनेहरुको सङ्ख्या धेरै छ, एक सातादेखि अर्डर भएको ठाउँमा पनि पुर्याउनै पर्यो, साँझसम्म दहीको माग हुन्छ, त्यसैले दही बनाउने काम पनि भइरहेको छ ।”
जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ । त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ ।
उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ । यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ ।
असार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन् । परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ ।
नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ ।
जुजु धौ व्यवसायी माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताउँछन्।
भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु धौ महिमा नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ। त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद नचाखी नजाने गरेका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया