Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा


नयाँदिल्ली। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्। विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताच्युत भई हाल भारतमा निर्वासनमा रहेकी उनले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएकी हुन्।

भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफू मृत्युसँग नडराउने बताउँदै आफ्नो विरुद्धमा भएको कानुनी कारबाहीलाई राजनीतिक प्रेरित र असंवैधानिक भएको दाबी गरिन्।७८ वर्षीया हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको व्यापक आन्दोलनपछि सत्ता छाडेर केही निकट आफन्तसहित भारत पुगेकी थिइन्। उक्त आन्दोलनले उनको १५ वर्ष लामो शासनको अन्त्य गरेको थियो।

हसिनाले आफूविरुद्ध लगाइएका मानवता विरुद्धको अपराधलगायतका आरोपहरू अस्वीकार गर्दै अदालतको फैसलालाई वैधानिक मान्न नसकिने बताइन्। गत नोभेम्बरमा ढाकाको एक अदालतले अनुपस्थितिमै उनलाई विभिन्न आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो।उनले विगतमा आफूविरुद्ध अनेकौं षड्यन्त्र रचिएको दाबी गर्दै जनताको मतबाट पाँच पटक प्रधानमन्त्री बनेर बंगलादेशको विकासमा योगदान दिएको स्मरण गरिन्। सबै चुनौती पार गर्दै यसै वर्ष स्वदेश फर्किने उनको भनाइ छ।

एक समय बंगलादेशको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको अवामी लिगलाई हाल राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ। हसिना भारत पुगेपछि बंगलादेशको अन्तरिम सरकारले उनको सुपुर्दगीका लागि भारतमाथि दबाब बढाएको थियो, जसले दुई देशबीचको सम्बन्धमा केही तनाव सिर्जना गरेको थियो।

यद्यपि, पछिल्लो राजनीतिक परिवर्तनसँगै भारत–बंगलादेश सम्बन्धमा सुधारका संकेत देखिएका छन्। फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमान नेतृत्वको नयाँ सरकार गठन भएको छ। तर, हसिनाको सुपुर्दगीको विषय भने अझै दुई देशबीचको संवेदनशील मुद्दाका रूपमा कायम रहेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट