अमेरिका-इरान पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य फेरि बढ्यो
काठमाडौं । अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनावले अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा अस्थिरता बढाएको छ।पश्चिम एसियामा बढेको तनावले दुई देशबिच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो।
तनावका कारण विश्वकै प्रमुख तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै हुने इन्धन आपूर्तिमा पुनः अवरोध देखिएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट (०.८ प्रतिशत) बढेर ७२.५७ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुड ८८ सेन्ट (१.३ प्रतिशत) ले वृद्धि हुँदै प्रतिब्यारेल ७०.११ डलरमा कारोबार भएको छ।
तेल बजारमा भू–राजनीतिक जोखिम अझै उच्च रहेको छ। गत फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धपछि तेल ढुवानीमा केही सुधार देखिए पनि पछिल्लो सैन्य घटनाक्रमले त्यो अवस्था फेरि प्रभावित भएको छ।
गत बिहीबारदेखि होर्मुज जलमार्गमा कतारसँग सम्बन्धित तेल ट्याङ्करसहित अन्य जहाजमाथि पुनः आक्रमण भएपछि तेल ढुवानी सुस्त बनेको छ। अन्तरिम शान्ति सम्झौतापछि भएको यो सबैभन्दा गम्भीर सैन्य टकराव मानिएको छ, जसले अमेरिका र इरानबीच फेरि तनाव बढाएको छ।
यसबीच, तेल बजारमा थप अस्थिरता रोक्न अमेरिका र इरानले आइतबार खाडी क्षेत्रमा जारी शत्रुता अन्त्य गर्ने तथा होर्मुज जलमार्गसम्बन्धी विवाद वार्तामार्फत समाधान गर्ने सहमति गरेका छन्। एएनजेटका विश्लेषकहरूका अनुसार बजारले फारसको खाडीबाट तेल आपूर्ति सहज हुने अपेक्षाको पुनर्मूल्यांकन गरिरहेको छ। तर ट्याङ्करहरूको चाप, क्षतिग्रस्त पूर्वाधार र केही उत्पादन केन्द्र बन्द रहेकाले आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अनुमान गरिएको छ।
उता, साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले चार महिनापछि शुक्रबारदेखि होर्मुज जलमार्गको पश्चिममा रहेको रास तनुरा टर्मिनलबाट पुनः कच्चा तेल लोड गर्न थालेको छ। आइतबार सोही टर्मिनलमा कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भए पनि तेल लोडिङ कार्य भने प्रभावित नभएको जनाइएको छ। दुर्घटनाको कारणबारे भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया