Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि


काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण र पुराना सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा विशेष प्रतिनिधि खटाएको छ।पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले केन्द्रबाट प्रतिनिधि परिचालन गरिएको कांग्रेसले जनाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ सदस्यता वितरण अभियानमार्फत युवाहरूको सक्रिय सहभागिता बढाउने लक्ष्यका साथ असार ७ गतेदेखि २० गतेसम्मका लागि केन्द्रीय प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा जिम्मेवारी तोकिएको हो।

‘पार्टीमा धेरैभन्दा धेरै युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले ७७ वटै जिल्लामा विशेष प्रतिनिधि खटाइएको हो,’ दुलालले बताए।

कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको डिजिटल अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ।पार्टीका अनुसार हालसम्म पाँच लाख ३८ हजार ६२२ जना क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन्। त्यस्तै, एक लाख ४९ हजार ३०९ जनाले पेश गरेको सदस्यता फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहबाट अद्यावधिक प्रक्रियामा रहेको छ।

खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई पार्टी सभापति गगन थापा तथा सदस्यता वितरण समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले अभिमुखीकरण गराएका थिए।कांग्रेसले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट