Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

सरकारले एन्फामा हस्तक्षेप गरेको छैन : खेलकुदमन्त्री


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन् । बिहीबार (असार १८) सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले एन्फाभित्र व्यापक भ्रष्टाचार र अनियमितताका विषयमा परेका उजुरीमाथि छानबिन सुरु गरिएको तर सरकारले कुनै हस्तक्षेप नगरेको बताएका हुन् ।

फिफाले एन्फालाई निलम्बन गरेको विषयमा मन्त्री पोखरेलले विगतमा त्यहाँ सरकारी हस्तक्षेप हुँदै आएको उल्लेख गरे । एन्फा निलम्बित हुनुमा वर्तमान सरकारको हस्तक्षेपका कारण नभएको उनले बताए ।

उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्षको अध्यक्षतामा गठित छानबिन समितिको प्रतिवेदन प्राप्त हुनेबितिकै आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइने जानकारी दिए । फिफा तथा एएफसीका पदाधिकारीलाई पनि वार्ताका लागि आमन्त्रण गरिएको उनले बताए ।

मन्त्री पोखरेलले अब बन्ने एन्फामा राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गरिने र यसलाई भ्रष्टाचारको अखडा हुन नदिने स्पष्ट पारे । आउँदा दिनमा एन्फाको नेतृत्वमा नेपाली फुटबलमा योगदान पुर्‍याएका पूर्वखेलाडीहरू, खेल बुझेका व्यक्तिहरू र वास्तविक फुटबलप्रेमीलाई मात्र समावेश गराइने उनको भनाइ थियो ।

फिफा विश्वकप हेर्न जान एन्फा पदाधिकारीलाई सरकारले रोकेको आरोपमा मन्त्री पोखरेलले घरेलु फुटबलको विकास गर्नुभन्दा पनि त्यता ध्यान दिनुलाई ठूलो ठान्न नहुने तर्क गरे ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट