Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

बैंकमा निक्षेप ८१ खर्ब नाघ्यो, सीडी रेसियो कति ?


काठमाडौं । कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता थपिँदै गएको छ । लगानीयोग्य रकम उपयोग हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमै राख्न बाध्य भएका छन् ।

बैंकिङ प्रणालीमा एकै दिन १५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ८० खर्ब ९४ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र एक वर्षे ऋणपत्रमार्फत यो रकम खिचिएको हो ।

निक्षेप र कर्जा असन्तुलन

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जा ५९ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । सोही अवधिमा निक्षेप भने ८१ खर्ब नाघिसकेको छ ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको हिस्सा ७३ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाहरूको हिस्सा ७ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ ।

कर्जा विस्तार भने अपेक्षाकृत कमजोर देखिएको छ । वाणिज्य बैंकहरूको कर्जा ५२ खर्ब ७५ अर्ब रुपैयाँ तथा अन्य वित्तीय संस्थाको कर्जा ६ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७२.४५ प्रतिशतमा सीमित छ । यस आधारमा प्रणालीमा करिब साढे १३ खर्ब रुपैयाँ लगानीयोग्य तरलता बाँकी रहेको अनुमान छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट