परराष्ट्र मन्त्रीका १०० दिन: ‘मोफा मित्र’ एपदेखि राजदूत नियुक्तिका लागि दरखास्त आह्वानसम्म
काठमाडौं । वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालय र मातहतका निकायहरूले सुशासन, सेवा प्रवाह र कूटनीतिक क्षेत्रमा हासिल भएका उपलब्धिहरू सार्वजनिक गरेका छन्। मन्त्रालयले सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गत विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई कन्सुलरलगायत आवश्यक सेवा उपलब्ध गराउन ‘मोफा मित्र’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ। साथै, कन्सुलर सेवा विभागको अनलाइन सेवा देशभरका सबै जिल्ला तथा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको सक्रिय पहलमा पोर्चुगलमा रहेका नेपाली नागरिकको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर प्रमाणीकरणको छाप कीर्ते भएको विषयसँग जोडिएको अस्थायी आवासीय अनुमतिपत्रको समस्या समाधान भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले समकक्षीहरूसँग गरेको कूटनीतिक संवादपछि उक्त समस्या सुल्झिएको मन्त्रालयले जनाएको छ।
दक्षिण–पूर्वी एसियामा अनलाइन स्क्यामिङमा फसेका ८१९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ भने निरन्तरको कूटनीतिक पहलका कारण युएईमा थुनामा रहेका १२८ जना र साउदी अरबमा रहेका ३३ जना नेपाली नागरिकले क्षमादान प्राप्त गरेका छन्।
पश्चिम एसियामा उत्पन्न तनावका बेला त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको थियो। सोही माध्यमबाट समस्यामा परेका एक हजार ४७ जना नेपालीलाई स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ।
नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय विदेश मन्त्रालयबीचको समन्वयबाट समाधान गरिएको छ।
राहदानी सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय र राहदानी विभागले असार २९ गतेदेखि नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन्। नेपाली नियोग नभएका मुलुकमा घुम्ती राहदानी सेवा सञ्चालन गरिएको छ भने हुलाक विभागसँगको सहकार्यमा जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत राहदानी सेवा सहज बनाउने व्यवस्था लागू भइसकेको छ। जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया पनि अघि बढाइएको छ।यस अवधिमा प्रधानमन्त्री वालेन्द्र शाहसँग काठमाडौंस्थित राजदूत तथा नियोग प्रमुखहरू र युरोपियन युनियनका प्रतिनिधिहरूबीच भएका सामूहिक शिष्टाचार भेटघाटको समन्वय परराष्ट्र मन्त्रालयले गरेको थियो।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै मन्त्रालयले वैदेशिक सहायता, लगानी, निर्यात व्यापार र पर्यटन प्रवर्द्धनका क्षेत्रमा विदेशस्थित नेपाली नियोगमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
नेपाल सरकारले अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया पनि अघि बढाएको छ। आगामी नोभेम्बर २४, २०२६ मा तय गरिएको स्तरोन्नतिलाई नोभेम्बर २०२९ सम्म सार्न परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको विकास नीति समितिका अध्यक्षलाई औपचारिक पत्राचार गरेका छन्।
भूतपूर्व ब्रिटिस गोर्खाहरूको मागका विषयमा बेलायतका रक्षामन्त्री जोन हिलीसँग भर्चुअल बैठक सम्पन्न भएको छ। त्यस्तै, नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले भूपरिवेष्टित मुलुकका रूपमा नेपालको विशिष्ट सरोकार अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्।यस अवधिमा रोमानिया, नर्वे, स्विट्जरल्याण्ड, इजिप्ट र डेनमार्कलगायत मुलुकसँग द्विपक्षीय परामर्श संयन्त्रका बैठक सम्पन्न भएका छन् भने हालसम्म १३ देशसँग श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ। कूटनीतिज्ञ यदुनाथ खनालको स्मृतिमा पाँचौँ ‘यदुनाथ खनाल लेक्चर सिरिज’ समेत आयोजना गरिएको छ।
नेपालकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरेपछि पहिलो दिवसका अवसरमा चम्पादेवी पदमार्गमा आरोग्य पदयात्रा आयोजना गरिएको थियो।
जर्मनीको हाइडलबर्ग विश्वविद्यालयमा रहेका करिब ८०० वर्ष पुराना नेपाली ऐतिहासिक हस्तलिखित सामग्री स्वदेश फिर्ता ल्याउने सम्झौतामा हस्ताक्षर भएको छ। गैरआवासीय नेपालीसम्बन्धी ऐन परिमार्जनलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ।परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत पहिलो पटक ‘इन्टर्नसिप फेलोसिप’ कार्यक्रम सुरु गरिएको छ, जसअन्तर्गत २० जना सहभागी छनोट भएका छन्। उनीहरूले परराष्ट्र मामिला र आर्थिक कूटनीतिका विषयमा अनुसन्धान गर्नेछन्।
नेपालको इतिहासमै पहिलो पटक राजदूत नियुक्तिका लागि खुला दरखास्त आह्वान गरिएकोमा करिब तीन हजार आवेदन परेको मन्त्रालयले जनाएको छ। यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढिरहेको छ।
विदेशस्थित नेपाली नियोगहरूले अनौपचारिक विप्रेषण तथा हुण्डी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। साथै, यस अवधिमा विदेशी मित्रराष्ट्रहरूबाट भएका १२ भन्दा बढी उच्चस्तरीय नेपाल भ्रमणको व्यवस्थापन तथा समन्वय पनि सफलतापूर्वक सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया