गृह मन्त्रालयको आश्वासनपछि सुस्तावासीको आन्दोलन स्थगित, टोली गाउँ फर्कियो
काठमाडौं । गृह मन्त्रालयले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले काठमाडौंमा जारी आन्दोलन स्थगित गरेका छन्। गत मंगलबारदेखि धर्ना र प्रदर्शनमा सहभागी हुँदै आएका आन्दोलनकारीहरू आइतबार बिहान सुस्ता फर्किएका हुन्।
सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै ५० भन्दा बढी सुस्तावासी काठमाडौं आएका थिए। उनीहरूले गौशालाबाट माइतीघर मण्डलासम्म नाराजुलुससहित प्रदर्शन गर्दै धर्ना दिएका थिए।
आन्दोलनकारीका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिहरूको विवरण संकलन गर्ने तथा कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। मन्त्रालयको उक्त आश्वासनपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको हो।
सुस्ता फर्किएपछि आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी गरेका छन्। आइतबार सार्वजनिक बिदा परेकाले सोमबार प्रशासन कार्यालय पुगेर गृह मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनका विषयमा छलफल गर्ने उनीहरूको योजना छ।
सुस्तावासीले सीमा अतिक्रमण रोक्न, भूमि संरक्षण गर्न तथा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए। उनीहरूले सरकारी प्रतिबद्धता कार्यान्वयन भए/नभएको आधारमा आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया