मृत्युको मुखबाट फर्किएका सोल्बाकेनले रचे इतिहास, ब्राजिललाई हराएर नर्वेलाई विश्वकपको नयाँ उचाइमा
काठमाडौं । “मेरी आमा त मेरो अन्तिम संस्कारको तयारी गर्दै हुनुहुन्थ्यो।” यो भनाइ नर्वे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टल सोल्बाकेनको हो, जसले मृत्युको मुखबाट फर्किएर आज विश्व फुटबलमा प्रेरणादायी इतिहास रचेका छन्।
५८ वर्षीय सोल्बाकेनको नेतृत्वमा नर्वेले अमेरिकामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई रोमाञ्चक खेलमा पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएको छ। खेलपछि उनी परिवारलाई अँगालो हालेर भावुक बनेका थिए। त्यसको कारण केवल ऐतिहासिक जित मात्र थिएन, बरु २५ वर्षअघि मृत्युको मुखबाट फर्किएको आफ्नै जीवन यात्रा पनि थियो।१३ मार्च २००१ मा अभ्यासका क्रममा उनलाई अचानक हृदयघात भएको थियो। उनको मुटुको धड्कन करिब सात मिनेटसम्म बन्द भएको थियो भने उनी २६ घण्टासम्म कोमामा रहेका थिए।
इटालीको खेलपत्रिका ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले सम्झिएका छन्, “मेरी आमा मलाई भेट्न आउँदै गर्दा मेरो वास्तविक अवस्था थाहा पाउनुभएको थिएन। उहाँ बाटोभरि मेरो अन्तिम संस्कार कसरी गर्ने भन्ने सोचिरहनुभएको रहेछ।”तर सोल्बाकेनले मृत्युलाई पराजित गरे। त्यसपछि उनी प्रशिक्षकका रूपमा नयाँ यात्रामा अघि बढे र अहिले नर्वेको सबैभन्दा प्रतिभाशाली पुस्तालाई विश्व फुटबलको नयाँ उचाइमा पुर्याइरहेका छन्।
उनको टोलीमा आर्सनलका कप्तान मार्टिन ओडेगार्ड, एट्लेटिको मड्रिडका अलेक्जेन्डर सोर्लोथ तथा म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डजस्ता खेलाडी छन्। ब्राजिलविरुद्धको खेलमा हालान्डले दुई गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याएका छन्, जुन लियोनेल मेस्सी र किलियन एम्बाप्पेको बराबरी हो।
ऐतिहासिक जितपछि सोल्बाकेनले भने, “यो नर्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो दिन हो।”
खेलाडीदेखि प्रशिक्षकसम्मको संघर्ष
सन् १९९० को दशकमा सोल्बाकेन नर्वेका प्रमुख मिडफिल्डर थिए। तोरे आन्द्रे फ्लो र ओले गुनार सोल्स्क्यारसँगै उनले नर्वेलाई १९९४ र १९९८ को विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेले।
सन् १९९८ को विश्वकपमा पनि नर्वेले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्व च्याम्पियन ब्राजिललाई २–१ ले हराएको थियो। त्यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यो उपलब्धिलाई लामो समयसम्म नर्वेको सबैभन्दा ठूलो फुटबल सफलता मानिएको थियो।
मैदानमै रोकिएको मुटुको धड्कन
सन् २००० मा एफसी कोपेनहेगनमा आबद्ध भएका सोल्बाकेन अभ्यासकै क्रममा मैदानमा ढलेका थिए। टोलीका चिकित्सकले तत्काल उपचार सुरु गरे पनि उनको मुटु सात मिनेटसम्म चलेन। चिकित्सकीय रूपमा मृत घोषित गरिए पनि अस्पताल लैजाने क्रममा चिकित्सकहरूले उनलाई पुनर्जीवित गर्न सफल भए।
पछि गरिएको परीक्षणमा उनी जन्मजात मुटुको समस्याबाट पीडित रहेको पत्ता लाग्यो। शरीरमा पेसमेकर राखिएपछि चिकित्सकहरूले व्यावसायिक फुटबल छोड्न सुझाव दिए र ३३ वर्षकै उमेरमा उनको खेल जीवन समाप्त भयो।
एक पडकास्टमा उनले त्यो अनुभव सम्झँदै भनेका थिए, “मैले एउटा नीलो प्रकाश र त्यसपछि एउटा सुरुङ देखेँ। केहीबेर त्यहीँ बसिरहन मन लागेको थियो।”
प्रशिक्षकका रूपमा नयाँ इतिहास
खेल जीवन समाप्त भएपछि सोल्बाकेनले प्रशिक्षकको जिम्मेवारी सम्हाले। एफसी कोपेनहेगनमा सफल कार्यकाल बिताएपछि उनी डिसेम्बर २०२० मा नर्वे राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भए।यद्यपि उनको नेतृत्वमा नर्वे २०२२ को विश्वकप र २०२४ को युरोपियन च्याम्पियनसिपमा छनोट हुन सकेन। तर नर्वे फुटबल संघले उनीमाथिको विश्वास कायम राख्यो।
त्यसको प्रतिफलस्वरूप २०२६ को विश्वकप छनोटमा नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै समूहका सबै खेल जितेर विश्वकपमा स्थान सुरक्षित गर्यो। विश्वकपमा पनि टोलीले प्रभावशाली प्रदर्शन जारी राख्दै नकआउट चरणमा आइभोरी कोस्ट र त्यसपछि ब्राजिललाई पराजित गर्दै इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।नर्वे फुटबल संघले सार्वजनिक गरेको भिडियोमा सोल्बाकेनले भने, “यी खेलाडीहरूले नर्वेको फुटबल इतिहास मात्र होइन, पूरा देशकै इतिहास बदलिदिएका छन्। आज हामीले महसुस गरेको खुसी सम्पूर्ण नर्वेले महसुस गरिरहेको छ।”
कुनै समय मृत्युको मुखबाट फर्किएका सोल्बाकेन आज विश्व फुटबलका सबैभन्दा प्रेरणादायी प्रशिक्षकमध्ये एक बनेका छन्। उनले एकपटक भनेका थिए, “जब म मृत्युबाट फर्किएँ, त्यसपछि जीवनको कुनै पनि चुनौतीसँग डर लागेन।” अहिले उनको जीवन र फुटबल यात्रा दुवैले त्यो भनाइलाई सत्य सावित गरेका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया