Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

भारत–इन्डोनेसियाबीच ब्रह्मोस क्षेप्यास्त्र खरिद सम्झौता


काठमाडौं । भारत र इन्डोनेसियाबीच ब्रह्मोस क्षेप्यास्त्र खरिद सम्झौता भएको छ ।

जकार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोको उपस्थितिमा इन्डोनेसियाको रक्षा मन्त्रालय र भारत–रुस संयुक्त उपक्रम ‘ब्रह्मोस एरोस्पेस’बीच ब्रह्मोस क्रुज क्षेप्यास्त्र प्रणाली आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताको वित्तीय तथा प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन ।

रोयटर्सका अनुसार भारतले इन्डोनेसियालाई ब्रह्मोस क्रुज क्षेप्यास्त्र प्रणालीका साथै हावाबाट हावामा प्रहार गर्न सकिने ‘अस्त्र’ क्षेप्यास्त्र पनि उपलब्ध गराउनेछ ।

यसैगरी, इन्डोनेसियाको निजी रक्षा होल्डिङ कम्पनी ‘रिपब्लिकर्प’ र भारतको सरकारी स्वामित्वको ‘भारत डायनामिक्स लिमिटेड’बीच हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रसम्बन्धी अर्को सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

यी सम्झौताले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री मोदीको तीन राष्ट्रको औपचारिक भ्रमणअन्तर्गत इन्डोनेसिया भ्रमणका क्रममा यी सम्झौताहरू भएका हुन् ।

स्टिल, कृषि र आपूर्ति शृंखलामा पनि सहकार्य

रक्षा क्षेत्रबाहेक दुवै देशले महत्त्वपूर्ण खनिजको आपूर्ति शृंखला, स्टिल उद्योग र कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

यसअन्तर्गत भारतको ‘स्टिल अथोरिटी अफ इन्डिया’ र इन्डोनेसियाको ‘क्राकाटाउ स्टिल’ले इन्डोनेसियामा स्टेनलेस स्टिल स्ल्याब उत्पादनका लागि संयुक्त उपक्रम स्थापना गर्ने सहमति गरेका छन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति प्रबोवो सुबियान्तोले विश्वका दुई ठूला लोकतान्त्रिक मुलुकबीचको सुदृढ साझेदारीले सम्पूर्ण क्षेत्रलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

मोदीले पनि हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा, स्थायित्व र संरक्षणलाई थप सुदृढ बनाउन भारत र इन्डोनेसियाले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट