३० अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ८२ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंलबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो। मौद्रिक नीतिमा लचिलो नीतिहरुको अपेक्षा गरिरहेका लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने कुनै नीति नपाएपछि यस दिन बजार घट्न पुगेको हो।
यस दिन नेप्से परिसूचक ३०.०९ अंक घटेर २६२१.५९ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६२ स्टकको ७७ हजार ६२७ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको ८४ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।७० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। यस दिन ६२ करोड ३९ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन साढे ४३ करोड रुपैयाँभन्दा बढीको ९।५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ किनेबच भएको छ भने करिब २२ करोड रुपैयाँबराबरको ८।५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ खरिदबिक्री भएको छ।
यस दिन मूल्य बढेका स्टकहरुको वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १३.४१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी घटेको छ भने सानिगाड हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया