नेपालमा लगानी विस्तार गर्न युएई इच्छुक, कृषि, रेल र आईटी क्षेत्रमा सहकार्यको प्रस्ताव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै विभिन्न औद्योगिक तथा पूर्वाधार क्षेत्रहरूमा लगानी गर्न आफ्नो देश इच्छुक रहेको बताए। उनले लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरेका थिए।छलफलमा युएईले विशेषगरी नेपालको कृषि क्षेत्रमा लगानी विस्तार गर्न रुचि देखाएको बताइएको छ। साथै, रेल पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन कानुनी तथा नीतिगत सहजता आवश्यक रहेको धारणा युएईको प्रतिनिधिमण्डलले राखेको थियो।
भेटमा सूचना प्रविधि क्षेत्र पनि प्राथमिकतामा परेको थियो। युएई पक्षले नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने सम्भावनाबारे चासो व्यक्त गर्दै आवश्यक लगानी तथा सहकार्यका लागि तयार रहेको जनाएको छ।दुवै पक्षबीच नेपाली कृषि उत्पादन, विशेषगरी फलफूल र तरकारीलाई युएई बजारमा निर्यात विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। यसका लागि खाद्य गुणस्तर प्रमाणीकरण, मापदण्ड विकास तथा प्राविधिक सहयोगमा सहकार्य गर्ने विषयमा सकारात्मक समझदारी बनेको जनाइएको छ।
उद्योग मन्त्री यादवले नेपाल–युएई व्यापार मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रस्ताव राखेकी थिइन्। युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा थप ठोस छलफल गर्ने प्रतिबद्धता जनाएको छ।
भेटका क्रममा मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले उडान सञ्चालन गर्ने तयारी गरेकोमा युएई सरकारप्रति आभार व्यक्त गरेकी थिइन्।
उच्चस्तरीय भेटवार्ताले नेपाल–युएईबीच व्यापार, लगानी र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया