पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई शुल्क छुट: नियमित उडान विस्तारमा टेवा पुग्ने विश्वास
गण्डकी। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सरकारले विभिन्न शुल्कमा भारी छुट दिने निर्णय गरेपछि पर्यटन तथा हवाई क्षेत्रका सरोकारवालाहरू उत्साहित बनेका छन्।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई लक्षित गर्दै विसं २०८५ भदौ मसान्तसम्मका लागि ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ। यसका साथै ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारको यस निर्णयले पोखरा-दुबई लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीहरूलाई भित्र्याउन सहज वातावरण बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यस कदमले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र समग्र आर्थिक गतिविधिमा ठूलो टेवा पुर्याउनेछ।
यसैबीच, आगामी असोज ७ गतेदेखि ‘फ्लाइ दुबई’ले पोखरा-दुबई सिधा उडान सेवा सुरु गर्न लागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेपछि फ्लाइ दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार यो उडानले पोखराबाट दुबई हुँदै युरोप तथा अमेरिकालगायतका गन्तव्यमा जाने यात्रुहरूलाई यात्रा अवधि र खर्च दुवै हिसाबले ठूलो सहजता मिल्नेछ।
सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको यो विमानस्थल हालसम्म आन्तरिक उडान र एकाध ‘चार्टर’ उडानमा मात्र सीमित रहँदै आएको छ।सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत अन्तर्राष्ट्रिय उडान प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएअनुरूप यो छुट र नियमित उडानको सुरुवातले पर्यटकीय राजधानी पोखरालाई विश्वव्यापी हवाई सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया