बाह्य संवाद, कानुनी राहत र गुटबन्दीको माहोल मिलाएर नेपाल फर्किने तयारीमा देउवा दम्पती
काठमाडौं। राहदानी खरिद प्रकरण, सम्पत्ति शुद्धीकरण र अस्वाभाविक नगद तथा सुन बरामदगीका गम्भीर आरोपहरूमाझ विदेशमा रहँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा स्वदेश फर्किने अन्तिम तयारीमा जुटेका छन्।
कानुनी चुनौती, आन्तरिक राजनीतिक संकट र जनदबाबकाबीच अनुकूल वातावरण सिर्जना भएसँगै देउवा दम्पतीले नेपाल फर्कने रणनीति बनाएका हुन्।भुटानी शरणार्थी प्रकरण तथा राहदानी छानबिनका क्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवामाथि सोधपुछ र बयानका लागि पत्र काटिए पनि अन्ततः उनीविरुद्ध मुद्दा नलैजाने निर्णय हुनुलाई राजनीतिक तथा कानुनी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
अनुसन्धान निकायले आवश्यक प्रमाण र प्रसंग जोडिँदा समेत औपचारिक बयान नलिनु र सोही प्रक्रियागत अभावलाई ढाल बनाएर अभियोजन नलाग्ने स्थिति बनाइनुले ‘सेफ एक्जिट’ को बाटो खोलेको विश्लेषण गरिएको छ।यस प्रक्रियामा उच्च राजनीतिक पहुँच, भित्री समझदारी र भारतीय प्रधानमन्त्रीका प्रतिनिधिमार्फत आएको कूटनीतिक दबाबले भूमिका खेलेको स्राेतकाेृ दाबी छ।यसैबीच, जेन-जी आन्दोलनका क्रममा सतहमा आएका अस्वाभाविक धन बरामदगी र गम्भीर आरोपहरूप्रति जनमानसको ध्यान बिस्तारै मोडिनु र घटनाक्रम सेलाउँदै जानुले उनीहरूका लागि थप सहज वातावरण बनेको छ।
राजनीतिक रूपमा आफ्नो गुटलाई पुनः संगठित गर्दै विपक्षी तथा विरोधी पक्षमाथि दबाब बढाउने र ‘राजनीतिक प्रतिशोध’ को भाष्य निर्माण गरेर आफ्ना कार्यकर्तालाई एकढिक्का बनाउने प्रयाससमेत अघि बढाइएको छ।यसैबीच, जेन-जी आन्दोलनका क्रममा घरबाट अस्वाभाविक रूपमा ठूलो परिमाणमा सुन र नगद भेटिएको विषय र त्यसले सिर्जना गरेको व्यापक जनआक्रोशलाई सामसुम पार्न संगठित रूपमा ध्यान मोड्ने प्रयासहरू सफल भएका छन्।
जनताको छोटो स्मृति र घटनाक्रम विषयान्तर हुने प्रवृत्तिको फाइदा उठाउँदै देउवा पक्षले पार्टीभित्र आफ्ना समर्थकहरूलाई पुनः संगठित गर्न थालिसकेका छन्।सर्वोच्च अदालतबाट तत्काल पक्राउ नगर्न जारी भएको अन्तरिम आदेश, कानुनी अड्चनहरूको किनारा र आन्तरिक शक्ति सन्तुलन मिलाइसकेपछि पूर्वप्रधानमन्त्री देउवाले आधिकारिक विज्ञप्ति जारी गर्दै चाँडै नेपाल फर्कने घोषणा गरेका छन्।
राहदानी प्रकरणमा मुद्दा चलाउनबाट जोगाउने खेल र चौतर्फी सम्झौतापछि हुन लागेको यो पुनरागमनले नेपाली कांग्रेसको आन्तरिक सत्ता र राष्ट्रिय राजनीतिमा फेरि नयाँ तरङ्ग ल्याउने देखिएको छ।सर्वोच्च अदालतबाट तत्काल पक्राउ नगर्न जारी भएको अन्तरिम आदेश र कानुनी अड्चनहरू क्रमशः पन्छिएपछि पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको आह्वानसहित चाँडै नेपाल फर्कने घोषणा गरेका थिए। यद्यपि फर्किने मिति भने ताेकिएकाे छैन।
पार्टीभित्र भइरहेको समानान्तर गतिविधि र गुटगत भेलाका माझ देउवा दम्पतीको आसन्न पुनरागमनले नेपाली राजनीति र नेपाली कांग्रेसको आन्तरिक सत्ता समीकरणमा नयाँ मोड ल्याउने निश्चित देखिन्छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया