‘प्रोजेक्ट फ्रीडम’ केही समयका लागि स्थगित गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिमा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित बाटो देखाउन सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान’प्रोजेक्ट फ्रीडम’ केही समयका लागि स्थगित गर्ने घोषणा गरेका छन् । इरानसँगको सम्झौताका लागि ठूलो प्रगति भएको दाबी गर्दै राष्ट्रपति ट्रम्पले मंगलबार साँझ यस्तो घोषणा गरेका हुन् ।
पाकिस्तानको मध्यस्थता र अनुरोधमा यो निर्णय लिइएको बताउँदै ट्रम्पले यसलाई दुवै पक्षको ुआपसी सहमतिु मा गरिएको स्थगनको रूपमा व्याख्या गरेका छन् । यद्यपि, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी भने कायमै रहने प्रस्ट पारिएको छ।
इरानसँग सम्झौताका लागि ‘ठूलो प्रगति’ भएको दाबी गर्दै आपसी सहमतिमा यो अभियान स्थगित गरिएको ट्रम्पको भनाइ छ। तर, इरानी सञ्चारमाध्यमहरूले भने यसलाई आफ्नो देशको जितको रूपमा व्याख्या गर्दै चौतर्फी विफलतापछि ट्रम्प पछि हट्न बाध्य भएको टिप्पणी गरेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यो निर्णय अमेरिकी र इरानी पक्षबिच मध्यस्थता गरिरहेको छिमेकी देश पाकिस्तानको अनुरोधमा लिइएको स्पष्ट पारेका छन्। अभियान रोकिए पनि इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी भने यथावत् रहने उनले बताएका छन्। यो घोषणा हुनुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको पहिलो चरणको सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ ले आफ्नो उद्देश्य पूरा गरेसँगै समाप्त भएको बताएका थिए।
ट्रम्पको यो अचानकको निर्णयले अमेरिकी प्रशासनभित्रै केही असमञ्जस सिर्जना गरेको छ। केही घण्टाअघिसम्म विदेशमन्त्री रुबियो, रक्षामन्त्री पिट हेगसेथ र जोइन्ट चिफका अध्यक्ष जनरल ड्यान केनले उक्त क्षेत्रमा स्वतन्त्र जलयात्रा र व्यापारको सुनिश्चितताका लागि अभियान जारी रहने दृढता व्यक्त गरिरहेका थिए। यद्यपि, विदेशमन्त्री रुबियोले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिका शान्तिको पक्षमा रहेको र राष्ट्रपति ट्रम्प सम्झौताको पक्षमा उभिएको बताएका छन्।
अमेरिकाले नाकाबन्दी र जहाजहरूको उद्धार अभियानलाई दुई अलग पाटोका रूपमा व्याख्या गर्दै आएको थियो। नाकाबन्दीको उद्देश्य इरानमाथि आर्थिक दबाब बढाउनु हो भने ‘प्रोजेक्ट फ्रिडम’ को उद्देश्य बन्दप्रायः रहेको जलमार्गबाट फसेका जहाजहरूलाई बाहिर निकालेर विश्व बजारमा तेलको आपूर्ति सहज बनाउनु थियो।
अब यो स्थगनको अवधिमा इरानले फेरि अवरोध सिर्जना गरेमा अमेरिकाले आफ्नो उद्देश्य प्राप्त भएको दाबी गर्न कठिन हुनेछ। अर्कोतर्फ, इरानले चर्को विरोध गर्दै आएको यो अभियान रोकेर अमेरिकाले उसलाई वार्ताको टेबलमा ल्याउने रणनीति बनाएको पनि अनुमान गरिएको छ।
यसैबिच, स्ट्रेट अफ होर्मुजमा तनाव कायमै रहेको संकेतहरू देखिएका छन्। बेलायती नौसेनाको निकायले उक्त जलमार्गमा एउटा कार्गो जहाजमा अज्ञात क्षेत्रबाट प्रहार भएको जनाएको छ। त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारेको दाबी गरेको छ। इरानले भने यूएईमाथि कुनै पनि आक्रमण नगरेको स्पष्टीकरण दिँदै यस्ता आरोपहरूको खण्डन गरेको छ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि यो संकट चुलिएको हो। जवाफमा इरानले विश्वको २० प्रतिशत तेल र ग्याँस ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग बन्द गरिदिएपछि यसले वैश्विक अर्थतन्त्रमा नै गम्भीर असर पुर्याएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय










प्रतिक्रिया