थलापति विजयको सम्पत्ति ६२४ करोड भारु, बैंकमा मात्रै २१३ करोड
काठमाडौं । मिल सुपरस्टार तथा राजनीतिज्ञ थलापति विजयको राजनीतिक उचाइसँगै उनको आर्थिक हैसियत पनि चर्चामा आएको छ। तमिलगा वेत्री कझगम पार्टीको सफलतापछि सार्वजनिक चासो झन् बढेको हो।
मार्च २०२६ मा पेश गरिएको निर्वाचन विवरणअनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारतीय रुपैयाँ रहेको उल्लेख गरिएको छ। विवरणमा ४०४ करोड भारु चल सम्पत्ति तथा २२० करोड भारु अचल सम्पत्ति रहेको जनाइएको छ।
चलचित्र, विज्ञापन र रियल स्टेट व्यवसायबाट उनले ठूलो आम्दानी गर्दै आएका छन्। विभिन्न बैंक खातामा उनको ठूलो रकम मौज्दात रहेको बताइएको छ। इन्डियन ओभरसिज बैंकमा मात्रै २१३ करोड भारुभन्दा बढी रकम रहेको विवरणमा उल्लेख छ। त्यस्तै एक्सिस बैंक, एचडीएफसी र एसबीआईमा पनि करोडौं रुपैयाँ बराबरको फिक्स्ड डिपोजिट रहेको जनाइएको छ।
विजयले विभिन्न कम्पनीमा लगानी गर्नुका साथै परिवारका सदस्यलाई ऋण तथा अग्रिम रकमसमेत दिएको खुलाइएको छ।
लक्जरी गाडीप्रतिको उनको रुचि पनि चर्चित छ। उनीसँग बीएमडब्लू ५३०, लेक्सस ३५०, टोयोटा भेलफायर, बीएमडब्लू आई–७, रेन्ज रोभर इभोक, अडी ए–८ एल र फोर्ड मस्टाङजस्ता महँगा सवारी साधन रहेका छन्।
अचल सम्पत्तितर्फ कोडाइकनालस्थित कृषि भूमि र चेन्नईका विभिन्न क्षेत्रमा रहेका आवासीय तथा व्यावसायिक भवन उल्लेख गरिएका छन्। नीलंकराई, सालिग्रामम, पोरुर, मायलापुर र एग्मोर क्षेत्रमा रहेका सम्पत्तिको मूल्य अर्बौंमा पुगेको बताइएको छ।
उनको सबैभन्दा चर्चित सम्पत्ति नीलंकराईस्थित समुद्रकिनारको आलिशान बंगला हो। कासुआरिना ड्राइभमा रहेको उक्त घरको मूल्य ७० देखि ८० करोड भारुसम्म रहेको अनुमान गरिएको छ।
निर्वाचन विवरणअनुसार विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका गरगहना पनि रहेका छन्, जसको मूल्य १ करोड २० लाख भारुभन्दा बढी रहेको उल्लेख छ। उनले आफूमाथि कुनै बैंक ऋण वा दायित्व नरहेको बताएका छन्।
आर्थिक वर्ष २०२४–२५ मा मात्रै विजयले १८४ करोड ५३ लाख भारु आम्दानी गरेको विवरण सार्वजनिक भएको छ।
व्यक्तिगत जीवनतर्फ विजयले सन् १९९९ मा संगीता सोर्नालिंगमसँग विवाह गरेका थिए। उनका एक छोरा जेसन सञ्जय र एक छोरी दिव्या शाशा छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय










प्रतिक्रिया