Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तिब्र


युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ ।

युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामासमुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ । विशेषगरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ । जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ ।

विश्व मौसम सङ्गठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र ‘एल निनो’ अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ । ‘एल निनो’ प्रशान्त महासागरको तापक्रम र वायुप्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी र अन्य चरम मौसम घटनाहरू बढाउने गर्छ ।

अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउसफादरका अनुसार आउँदो एल निनोका कारण सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्नेछ । वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट