डोनाल्ड ट्रम्पको ३ दिने चीन भ्रमण पक्का, के–के छन् मुख्य एजेन्डा ?
काठमाडौं । करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति आधिकारिक राजकीय भ्रमणका लागि चीन जाँदैछन्। चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म चीनको भ्रमणमा रहनेछन्।
अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, होर्मुज जलसन्धिमाथिको सङ्कट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ। यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित गरिएको थियो।
जसमा ट्रम्प बुधबार (१३ मे) मा साँझ बेइजिङ पुग्नेछन् । उनको स्वागतमा विहीबार भव्य स्वागत समारोह आयोजना हुनेछ । त्यसलगत्तै राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता हुनेछ। सोही दिन ट्रम्पले ‘टेम्पल अफ हेभन’ को भ्रमण गर्नेछन् र राजकीय भोजमा सहभागी हुनेछन्।
शुक्रबार दुवै नेताहरूबीच चियापानसहितको छलफल र ‘वर्किङ लन्च’ हुनेछ। यस वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकाको भ्रमण गर्न सक्ने सङ्केत अमेरिकाले दिएको छ।
के छन् छलफलका मुख्य एजेन्डाहरू ?
ट्रम्पको यस भ्रमणमा कुनै महत्वपूर्ण चिनियाँ लगानीको घोषणा हुने आशालाई अमेरिकी अधिकारीहरूले कम गरेका छन्। यद्यपि, एयरोस्पेस, कृषि र ऊर्जा क्षेत्रमा केही सम्झौताहरू हुन सक्नेछन्।
भ्रमणमा ब्ल्याकस्टोनका स्टिफन स्वार्जम्यान र सिटी ग्रुपकी जेन फ्रेजरलगायतका शीर्ष अमेरिकी सीईओहरू पनि ट्रम्पको साथमा रहनेछन्। भ्रमणअघि व्यापारिक तनाव कम गर्न चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसन्टबीच मे १२ र १३ मा दक्षिण कोरियामा अन्तिम चरणको वार्ता हुँदैछ।
व्यापार र अर्थतन्त्रसँगै इरान युद्ध पनि यो भ्रमणको अर्को एजेन्डा हुनेछ । किनकि इरानसँगको सङ्घर्ष यस भ्रमणको प्रमुख पृष्ठभूमिमा रहनेछ। चीनले यसअघि नै होर्मुज जलसन्धि विश्वको अत्यन्तै महत्त्वपूर्ण व्यापारिक मार्ग भएको र यसमा नाकाबन्दी गर्नु सही निर्णय नभएको बताइसकेको छ।
यसका साथै, ताइवान मामिला र हतियार बिक्री पनि भ्रमणको एजेन्डा बन्ने बताइएको छ । ट्रम्प र सी बीच ताइवानको मुद्दा केन्द्रबिन्दुमा रहनेछ। अमेरिकी अधिकारीहरूले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्।
ट्रम्प प्रशासनले ताइवानलाई हतियार बिक्री जारी राखेर चीनको दबाबका बाबजुद पछि नहट्ने सन्देश दिइसकेको छ।
त्यस्तै, एआई प्रविधिको विषयमा दुई देशबीच प्रारम्भिक छलफल हुनेछ। यस क्षेत्रमा दुई देशबीच सञ्चारको माध्यम स्थापित गर्न सकिन्छ कि भनेर सम्भावना खोजी गरिनेछ।
क्याटेगोरी : अन्तराष्ट्रिय










प्रतिक्रिया