संसद्मा रास्वपा–एमाले आमने-सामने
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चर्को विवाद भएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई लिएर दुवै दलका सांसदहरू संसद्मै आमनेसामने भएका हुन् ।
मंगलबारको बैठकमा बोल्दै नेता बादलले रास्वपाले चुनावमा सफलता हासिल गर्नुमा प्रविधिको प्रयोग भएको दाबी गरेका थिए । उनले ‘अराजकहरूको भीड’ जस्ता टिप्पणी गर्नुका साथै देश संकटमा पर्दा नेपाली सेना मौन बसेको अभिव्यक्ति दिएका थिए ।
उनको उक्त भनाइप्रति रास्वपाले तत्काल आपत्ति जनाएको थियो । बुधबारको बैठकमा पनि रास्वपा सांसद मनिष खनालले सभामुखको ध्यानाकर्षण गराउँदै बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरे । उनले त्यस्ता टिप्पणी रेकर्डमा रहिरहे भविष्यमा गलत सन्देश जाने बताएका थिए ।
खनालले धारणा राखेपछि एमाले प्रमुख सचेतक ऐन महर प्रतिवाद गर्न उठेका थिए । उनले नियमापत्तिका आधारमा बोल्न समय मागे पनि सभामुखले अनुमति दिएनन् ।
बरु सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत अभिव्यक्ति आएको ठहर गर्दै ती शब्द संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा सांसदहरूले मर्यादित भाषा प्रयोग गर्नुपर्ने, अशिष्ट वा अपमानजनक शब्द प्रयोग गर्न नपाइने तथा कुनै व्यक्ति, समुदाय वा संस्थालाई होच्याउने अभिव्यक्ति दिन नहुने व्यवस्था छ ।
सभामुखको रुलिङपछि एमाले र रास्वपाबीच संसद्मा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया