नागढुङ्गादेखि कलङ्कीसम्म ११ सय सिसि क्यामरा जडान गरिदै
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गरिने भएको छ । सो सडकमा सिसि क्यामरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच बिहिवार एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारी अनुसार, काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान हुनेछ । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन् । समझौता अनुसार, नगरपालिकाभित्र थप ११ सय सिसि क्यामेरा जडान गरिने छ । समझदारी पत्रमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे ।
नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने नगर प्रमुख गिरीले बताए ।
कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया