एकै दिन २७४ जनाद्वारा सगरमाथा आरोहण
काठमाडौं । बुधबार एकै दिन २७४ जना पर्वतारोही सगरमाथाको चुचुरोमा पुग्दै नयाँ कीर्तिमान बनेको छ । नेपालतर्फबाट एकै दिन सफल आरोहण गर्ने यो अहिलेसम्मकै उच्च संख्या भएको पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।
यसअघि सन् २०१९ मे २२ मा २२३ जनाले एकै दिन सगरमाथा आरोहण गरेका थिए । गिनिज वर्ल्ड रेकर्ड्सअनुसार दुवैतर्फबाट सबैभन्दा धेरै ३५४ जना आरोहीले सन् २०१९ मे २३ मा चुचुरोमा पुगेका थिए ।
यस वर्ष चीनले तिब्बततर्फबाट आरोहण अनुमति नदिएका कारण सबै आरोही नेपालतर्फबाट मात्रै गएका हुन् । केही आरोहीले अझै आफ्नो सफल आरोहणको जानकारी बेस क्याम्पमा नपठाएकाले संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
नेपालले यस वर्ष सगरमाथा आरोहणका लागि ४९४ वटा अनुमति जारी गरेको छ । प्रतिअनुमति शुल्क १५ हजार अमेरिकी डलर निर्धारण गरिएको छ ।
धेरै आरोहीलाई अनुमति दिँदा ‘डेथ जोन’ क्षेत्रमा भीडभाड र जोखिम बढ्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । नेपाल सरकारले भने अनुभवहीन आरोहीबाट हुने जोखिम कम गर्न कडा नियम र उच्च शुल्क लागू गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया