भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौँ ठूलो शेयर बजार बन्यो
भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौँ ठूलो शेयर बजार बनेको छ । विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ‘ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी’ (टीएसएमसी) को शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको पाँचौँ ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ ।
यस वर्ष टीएसएमसीको शेयर ४९ प्रतिशतले बढेको छ जसले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा लगानी बढाएको छ । तर भारत भने बढ्दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग सङ्घर्ष गरिरहेको छ ।
ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण ४९ खर्ब ५० अर्ब अमेरिकी डलर पुगेको छ । अहिले भारतको शेयर बजार पूँजीकरण ४९ खर्ब २० अर्ब डलर छ ।
विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो । त्यसपछि चीन, जापान र हङकङ रहेका छन् । रोचक कुरा के छ भने शीर्ष पाँचमध्ये तीनमा चीन, हङकङ र ताइवान हुन् । हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ ।
शेयर बजार मूल्याङ्कन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो ।
क्याटेगोरी : अन्तराष्ट्रिय, अर्थ













प्रतिक्रिया