Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

कुन आयोजनामा कति बजेट?


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि रु २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ रु ४ खर्ब ३१ अर्ब १० करोड तथा वित्तीय व्यवस्थापनतर्फ रु ४ खर्ब २२ अर्ब ६४ करोड विनियोजन गरिएको जानकारी दिएका छन्।

सरकारले आगामी वर्ष सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद र सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्बौं रुपैयाँ बजेट छुट्याएको छ।

सडक तथा पूर्वाधारमा ठूलो लगानी

पूर्व–पश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड, तराई–मधेस द्रुतमार्गका लागि रु १७ अर्ब ६४ करोड, पृथ्वी राजमार्गका लागि रु ६ अर्ब ५५ करोड तथा हुलाकी राजमार्गका लागि रु ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ।त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्गलाई रु २ अर्ब १६ करोड, मदन भण्डारी राजमार्गलाई रु १ अर्ब ४६ करोड र कर्णाली राजमार्गलाई रु १ अर्ब छुट्याइएको छ।

सडक मर्मतसम्भार अभियान सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड, सडक सुरक्षाका लागि रु २ अर्ब ४६ करोड तथा पहिरो व्यवस्थापनका लागि रु ३ अर्ब १७ करोड विनियोजन गरिएको छ। सडक तथा सहरी पूर्वाधार विकास शीर्षकमा मात्रै रु २ खर्ब ८६ अर्ब ४८ करोड बजेट राखिएको छ।

खानेपानी र ऊर्जामा उच्च प्राथमिकता

खानेपानी तथा सरसफाइ क्षेत्रमा रु ३७ अर्ब १७ करोड विनियोजन गरिएको छ। उपत्यकामा खानेपानी पाइप सञ्जाल विस्तारका लागि रु ७ अर्ब २६ करोड, फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि रु ३ अर्ब ४६ करोड तथा प्रमुख सहरमा ढल व्यवस्थापन कार्यक्रमका लागि रु २ अर्ब ३४ करोड छुट्याइएको छ।

ऊर्जा क्षेत्रतर्फ प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि रु ७० अर्ब तथा ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन विस्तारका लागि रु ८५ अर्ब ५४ करोड विनियोजन गरिएको छ।

सिँचाइ र कृषि क्षेत्रमा पनि अर्बौं बजेट

सिँचाइ  डाइभर्सन आयोजनाका लागि रु ५ अर्ब ६३ करोड, महाकाली सिँचाइ तथा रानी–जमरा–कुलरिया आयोजनाका लागि रु ५ अर्ब १३ करोड, सिक्टा सिँचाइ आयोजनाका लागि रु २ अर्ब ५५ करोड तथा सुनकोशी–मरिन डाइभर्सनका लागि रु २ अर्ब ९८ करोड छुट्याइएको छ।

कृषितर्फ रासायनिक मल खरिदका लागि रु ३२ अर्ब ४६ करोड, कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु २ अर्ब ७ करोड विनियोजन गरिएको छ।

शिक्षा, स्वास्थ्य र खेलकुदमा प्राथमिकता

शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ भने विद्यार्थी छात्रवृत्तिका लागि रु ८ अर्ब ६० करोड छुट्याइएको छ।

स्वास्थ्य क्षेत्रमा रु १ खर्ब १ अर्ब ९५ करोड बजेट राखिएको छ। जसमध्ये स्वास्थ्य बिमा कार्यक्रमका लागि मात्रै रु १५ अर्ब विनियोजन गरिएको छ। विपन्न नागरिक स्वास्थ्य सुरक्षाका कार्यक्रमका लागि रु १३ अर्ब १५ करोड तथा आधारभूत अस्पताल सञ्चालन र पूर्वाधार निर्माणका लागि रु ५ अर्ब ९० करोड छुट्याइएको छ।

खेलकुद क्षेत्रले आगामी वर्ष रु ४ अर्ब ३ करोड बजेट पाएको छ।

सामाजिक सुरक्षा, पर्यटन र उद्योगमा पनि बजेट वृद्धि

सामाजिक सुरक्षातर्फ रु १ खर्ब २० अर्ब विनियोजन गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका कार्यक्रमका लागि रु २ अर्ब २७ करोड छुट्याइएको छ।

संस्कृति तथा पर्यटन क्षेत्रमा रु ७ अर्ब ३४ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि रु १ अर्ब ५३ करोड तथा नागरिक उड्डयन क्षेत्रमा रु २ अर्ब ९३ करोड विनियोजन गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा रु ८ अर्ब ३१ करोड, विज्ञान–प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा रु ४ अर्ब तथा नेपाल इन्टरप्राइज फसिलिटीका लागि रु ५० करोड बजेट राखिएको सरकारले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट