Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको राजीनामा माग


विराटनगर । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको १ नम्बर प्रदेश समितिले प्रधानमन्त्री बालेन्द्र शाह को हालैको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाउँदै राजीनामाको माग गरेको छ।
सङ्घले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवारपूर्ण तथा राष्ट्रहितविपरीत रहेको दाबी गरेको हो।
विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट “भारतले मात्र होइन, नेपालले पनि धेरै स्थानमा सीमा मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले राष्ट्रिय स्वाधीनता, कूटनीतिक मर्यादा तथा संवैधानिक जिम्मेवारीमाथि प्रश्न उठाएको जनाइएको छ।
“नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताविपरीत दिइएको यस्तो राष्ट्रघाती अभिव्यक्तिको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।
सङ्घले प्रधानमन्त्रीको उक्त भनाइ फिर्ता लिन, सार्वजनिक रूपमा क्षमायाचना गर्न तथा नैतिक आधारमा पदबाट राजीनामा दिन आग्रह गरेको जनाएको छ।
सङ्घकी अध्यक्ष लक्ष्मी न्यौपाने ‘लता’ र सचिव भूमिका कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ऐतिहासिक नालापानी युद्ध मा नेपाली महिलाले प्रदर्शन गरेको साहस र योगदानको स्मरण गर्दै राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन सम्पूर्ण नागरिकलाई आह्वानसमेत गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट