Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

अमेरिका र इरान फेरि एक–अर्काविरुद्ध आक्रमणमा, कुवेतमा बजाइयो खतराको साइरन


काठमाडौं । अमेरिका र इरान फेरि एक–अर्काविरुद्ध आक्रमणमा उत्रिएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना सेनाले होर्मुज जलमार्गतर्फ प्रहार गरिएका चारवटा इरानी ‘वन–वे’ आत्मघाती ड्रोन खसालेको पुष्टि गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार ती ड्रोनहरूले क्षेत्रीय समुद्री आवतजावतका लागि तत्काल खतरा उत्पन्न गरेका थिए ।

“थप आक्रमणहरू रोक्न अमेरिकी सेनाले त्यसपछि गोरुक र क्युसम टापुमा रहेका इरानी तटीय निगरानी रडार केन्द्रहरूमा आक्रमण गरेको थियो,” सेन्ट्रल कमाण्डले जनाएको छ, “अमेरिकी सेना उच्च सतर्कतामा रहेको छ र आत्मरक्षाका लागि इरानको अनुचित आक्रामकताको जवाफ दिन तयार छ ।”

यसअघि एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई इरानले धेरै ‘वन–वे’ आत्मघाती ड्रोन प्रहार गरेको बताए पनि हालसम्म कुनै जहाजमा क्षति पुगेको जानकारी प्राप्त भएको छैन ।

युद्धविरामका बाबजुद इरान, अमेरिका तथा उसका खाडी सहयोगी राष्ट्रहरूबीच तनाव जारी छ । अमेरिकी सैन्य सेन्ट्रल कमान्डले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार इरानले कुवेत र बहराइनतर्फ सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

तीमध्ये ६ वटा क्षेप्यास्त्रलाई बीचमै नष्ट गरिएको थियो । एउटा क्षेप्यास्त्र आफ्नो लक्ष्यसम्म पुग्न सकेन ।

सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ, “सेन्ट्रल कमान्डका सेनाहरू सतर्क अवस्थामा छन् । आत्मरक्षाका लागि इरानको अनुचित आक्रामकताको जवाफ दिन पूर्ण रूपमा तयार रहेका छन् ।”

यसैबीच, कुवेती सेनाले शनिबार बिहान स्थानीय समयअनुसार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै आफूहरू शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको सामना गरिरहेको जनाएको छ ।

त्यसको केही समयपछि बहराइन सरकारले पनि देशभर खतराको चेतावनी दिने साइरन बजाइएको जानकारी दिएको थियो ।

बहराइनको गृह मन्त्रालयले ‘एक्स’मा लेखेको छ, “चेतावनीका साइरन बजाइएको छ । नागरिक तथा बासिन्दाहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान अनुरोध गरिन्छ ।” सीबीएस

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट