Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा, देशभर जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आफ्नो इतिहासकै पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशव्यापी संगठन विस्तार र नेतृत्व छनोट अभियानमा जुटेको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनलाई लक्षित गर्दै पार्टीले दुई चरणमा जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो चरणअन्तर्गत शनिबार ३६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने आइतबार थप २५ जिल्लामा नेतृत्व चयन तथा महाधिवेशन प्रतिनिधि छनोटका लागि अधिवेशन आयोजना गरिँदैछ। प्राविधिक तथा विधानगत तयारी पूरा हुन बाँकी रहेका हिमाली क्षेत्रसहित १६ जिल्लामा भने दोस्रो चरणमा अधिवेशन गरिने जनाइएको छ।
यसअघि वडा तथा पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पार्टीले महाधिवेशनलाई व्यवस्थित बनाउन सभापति रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। उक्त समितिमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री बुर्लाकोटीसहित केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरूलाई समेटिएको छ। महाधिवेशन व्यवस्थापनका लागि १८ वटा विभिन्न उपसमितिहरू पनि सक्रिय बनाइएका छन्।
परिमार्जित विधानअनुसार महाधिवेशनमा केन्द्रीय समितिका वर्तमान ९२ सदस्य स्वतः प्रतिनिधि रहनेछन्। संशोधित व्यवस्थाले केन्द्रीय समितिको आकार १२९ सदस्यीय बनाएको छ। प्रतिनिधिसभा सदस्य, केन्द्रीय सल्लाहकार परिषद् तथा विभिन्न संवैधानिक निकायका पदाधिकारीहरू पनि स्वतः प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

पार्टीले प्रतिनिधित्वमा समावेशितालाई विशेष प्राथमिकता दिएको जनाएको छ। विभागीय प्रतिनिधिमध्ये कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ भने प्रत्येक जिल्लाबाट छनोट हुने पाँच प्रतिनिधिमध्ये कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ। प्रवासबाट अधिकतम ११ जना प्रतिनिधिले सहभागिता जनाउन पाउनेछन्।

स्थानीय तहबाट प्रतिनिधित्वको आधार सदस्य सङ्ख्या बनाइएको छ। सदस्य सङ्ख्या अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट क्रमशः एकदेखि चारजनासम्म प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाले महाधिवेशनमार्फत केन्द्रदेखि वडा तहसम्म निर्वाचित संरचना निर्माण गर्ने रणनीति अघि सारेको छ। पार्टीले केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी छ तहका संगठनात्मक संरचना निर्वाचित प्रक्रियामार्फत गठन गर्ने जनाएको छ।

आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन सभापति पदमा निर्वाचित हुन कुल मतको कम्तीमा ५० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रमा १३ सदस्यीय पदाधिकारी संरचना रहनेछ, जसमा महिला सहभागिता अनिवार्य गरिएको विभिन्न पदहरू समावेश छन्।

यसैबीच, सभापति रवि लामिछानेले महाधिवेशनको पूर्वसन्ध्यामा जारी गरेको सन्देशमार्फत रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई देशको नेतृत्व गर्ने मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित हुनु रहेको बताएका छन्। उनले पद र अवसरको प्रतिस्पर्धाभन्दा संगठन विस्तार र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

परम्परागत राजनीतिक संस्कार र प्रवृत्तिबाट मुक्त भएर नयाँ राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिँदै लामिछानेले संवाद, सहमति र स्वस्थ प्रतिस्पर्धामार्फत सक्षम नेतृत्व चयन गर्न आह्वान गरेका छन्। उनले पहिलो राष्ट्रिय महाधिवेशनलाई प्रविधिमैत्री, व्यवस्थित र सकारात्मक राजनीतिक सन्देश प्रवाह गर्ने ऐतिहासिक कार्यक्रमका रूपमा सफल बनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई अपिल गरेका छन्।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट