Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

एक महिनादेखि संवादहीन अवस्थामा कांग्रेस नेताहरू, क–कसको तयारी कस्तो छ ?


काठमाडौं । गत भदौको जेनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिमा अगाडि बढेको नेपाली कांग्रेसभित्रको विवाद अहिले पार्टी विभाजनउन्मुख तहसम्म पुगेको छ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा अहिले कांग्रेस विभाजित छ । फागुन २१ को निर्वाचनमा एक जस्तो देखिएको कांग्रेस निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड्नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएर विभाजनउन्मुख तहमा पुगेको छ ।

जेठ मसान्ताभित्र पार्टी एकताका लागि सभापति गगन थापाबाट ठोस प्रस्ताव नआए विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले वैकल्पिक बाटो समाउने तयारी गरेपछि शुक्रबार उपसभापति विश्वप्रकाश शर्मा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर नेता खड्कालाई भेटेका थिए । सो भेटमा खड्काले पार्टी एकताको ठोस प्रस्तावसहित दुई दिनभित्र वार्ता गर्न उपसभापति शर्मा मार्फत सभापति थापालाई सन्देश पठाएका थिए । तर आइतबारसम्म थापा र खड्काको भेट नभएको खड्का निकट एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले पनि विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभपाति थापाले तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई अलग अलग भेटेका थिए । त्यसयता थापाको विषेश महाधिवेशनमा सहभागी नभएका नेताहरूसंग संवाद नभएका सो समुहका नेताहरूको भनाई छ । सो भेटमा कोइराला र खड्का दुवैले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी थापाको काँधमा आएको बताउँदै त्यसका लागि प्रस्ताव मागेका थिए । तर सभापति थापाले भेटमा त्यस्तो प्रस्ताव लिएर नआएको, अन्य नेताहरूसँग छलफल गरेर एकताको सूत्रसहितको प्रस्ताव एकदुई दिनमा लिएर आउने आश्वासन दिएका थिए । तर एक महिना बित्दा पनि त्यस्तो प्रस्ताव नआएको विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको दाबी छ ।

खड्का र कोइरालाको माग
खड्का र कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले पार्टी एकताका लागि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई समायोजन गर्नुपर्ने प्रस्ताव राखेका छन् । त्यस्तै, अर्को प्रस्ताव पार्टी निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता छानविन समिति दुवै पक्षको सहमति र सहभागितामा पुर्नगठन गर्नुपर्ने छ । दुवै पक्षको सहमतिमा १५औं महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने अर्को प्रस्ताव छ । त्यसैगरी क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरणको काम पहिला नै टुंगिएकाले त्यसकै आधारमा महाधिवेशन गर्नुपर्ने पनि खड्का र कोइराला पक्षको अर्को प्रस्ताव छ ।

सभापति थापाको प्रस्ताव
सभापति थापा खड्का र कोइरालाहरूको प्रस्ताव मध्ये दुवै केन्द्रीय समितिलाई समायोजन गर्न तयार छैनन् । थापा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्दीय समितिमा मनोनित गर्ने, खड्का र कोइरालालाई बरिष्ठ नेता बनाउने र खड्का र कोइरालाको सिफारिसमा दुई जना सहमहामन्त्रीमा मनोनित गर्न तयार भएको सन्देश अनौपचारिक रुपमा पठाएका छन् ।

त्यस्तै, अर्को प्रस्ताव पार्टी निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता छानविन समिति दुवै पक्षको सहमति र सहभागितामा पुर्नगठन गर्नुपर्ने खड्का र कोइरालाको प्रस्तावमा भने सभापति थापा सहमत देखिन्छन् । तर क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरणको काम पहिला नै टुंगिएकाले त्यसकै आधारमा महाधिवेशन गर्नुपर्ने पनि खड्का र कोइराला पक्षको अर्को प्रस्तावमा भने थापा सहमत देखिएका छैनन् ।

कहाँ छ त अविश्वास ?
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नयाँ वितरण र नवीकरणको काम पहिला नै टुंगिएकाले त्यसकै आधारमा महाधिवेशन गर्दा कोइरासहितको पुरानो नेतृत्व एक ठाउँमा उभिँदा महाधिवेशनको परिणाम आफू प्रतिकुल आउन सक्ने भय छ । विशेष महाधिवेशनलाई महाधिवेशनबाट वैधानिकता दिन वर्तमान नेतृत्वले पार्टीभित्र एकता नचाहेको र सदस्यता अद्यावधिकका नाममा आफूप्रति बफादार कार्यकता मात्र बनाउन लागिपरेको एक नेताको दाबी छ ।

पार्टीभित्र विभिन्न समूहमा सक्रिय रहेका नेताहरू विशेष महाधिवेशनमा भेट भए पनि एकअर्काप्रति विश्वास र भरोसाभन्दा आशंका र अविश्वास बढिरहेको एक पदाधिकारीले बताए । विषेश महाधिवेशनबाट निर्वाचित एक पदाधिकारीका अनुसार सभापति थापालाई पदाधिकारीप्रति पूर्णविश्वास र भरोसा भए जस्तो देखिँदैनन् । सबै पदाधिकारीले आफूलाई मात्र केन्द्रमा राखेर काम गर्दा पार्टीलाई एकतावद्ध गर्ने कुरा कम प्राथमिकतामा परेको ती पदाधिकारीको दाबी छ ।

खड्का र कोइराला पक्षलाई भने क्रियाशील सदस्यता अद्यावधिक नाममा अर्को पक्षलाई पार्टीबाट जबर्जस्ती अलग्याउने प्रयासमा लागेको हो कि भन्नेमा संशंकित छन् । त्यस्तै खड्का र कोइराला पक्षका नेताहरूले सभापति थापाले एकताको प्रस्ताव ल्याउनुको साटो थापाले आफूखुसी केन्द्रीय सदस्यमा केही नेतालाई मनोनित गर्दा र भ्रातृ संगठनका अध्यक्षहरूलाई राजीनामा दिन बाध्य पारेर सभापति पक्षले निकटलाई नेतृत्व दिएपछि शंकाको दृष्टिले हेर्न थालेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट