Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

‘३५ वर्ष’ को बहसबाट बाहिर निस्कन नयाँ सांसदलाई रक्षा बमको सुझाव


काठमाडौँ । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ पुस्ताका सांसद तथा जनप्रतिनिधिहरूलाई विगतको राजनीतिक भाष्यमा अल्झिनुभन्दा आफ्नो कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले ‘३५ वर्ष’ को बहसलाई निरन्तर दोहोर्‍याउनुको सट्टा अब नयाँ नेतृत्वले आफ्नो जिम्मेवारीप्रति जवाफदेही बन्नुपर्ने बताएकी हुन्।

‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईंहरूको पनि गन्ती सुरु भइसकेको छ,’ उनले लेखेकी छन्।

उनका अनुसार जनताले अब नयाँ नेतृत्वको कार्यक्षमता मूल्याङ्कन गर्न थालिसकेका छन्। घरबारविहीन सुकुम्बासी, भूमिहीन नागरिक, बेरोजगार युवा तथा वैदेशिक रोजगारीमा खटिएका नेपालीहरूले आफ्ना अपेक्षाहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने चासोका साथ नेतृत्वको कामलाई नियालिरहेको उनले उल्लेख गरेकी छन्।

बमले सत्ता र जिम्मेवारी प्राप्त गरिसकेपछि विगतका कमजोरीमाथि मात्रै प्रश्न उठाएर नपुग्ने भन्दै वर्तमानका समस्या समाधान र भविष्य निर्माणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेकी छन्।

‘अब डाडुपन्यु तपाईंहरूकै हातमा छ। त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्,’ उनले भनेकी छन्।

उनले आगामी निर्वाचनसम्म नयाँ जनप्रतिनिधिहरूको पनि पाँच वर्षे कार्यकाल पूरा हुने स्मरण गराउँदै जनतासँग गरिएका प्रतिबद्धता र घोषणापत्रको मूल्याङ्कन अन्ततः मतदाताले नै गर्ने बताएकी छन्।

‘तपाईंहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन् र हिसाब पनि राखिरहेका छन्,’ बमको भनाइ छ।

उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा नयाँ नेतृत्वको कार्यसम्पादन, जवाफदेहिता र जनअपेक्षासँग जोडेर व्यापक रूपमा चर्चा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट