Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

विज्ञान तथा नवप्रवर्तन मन्त्रालयलाई संस्थागत बनाउन कानुनी आधार निर्माण पहिलो प्राथमिकता : मन्त्री महावीर पुन


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संरचनागत आधार निर्माणको काम तत्काल अघि बढाइएको बताएका छन्।

मन्त्री पुनले मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो चरणमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो कार्यदिवसका निर्णय सार्वजनिक गर्दै उनले नवगठित मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपरेकाले आधारभूत संरचना, कानुनी व्यवस्था र कार्यप्रणाली निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका हुन्।

उनका अनुसार मन्त्रालय सञ्चालनका लागि स्पष्ट कानुनी आधार आवश्यक भएकाले ऐन निर्माण प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयको कामलाई व्यवस्थित, दिगो र परिणाममुखी बनाउन बलियो कानुनी ढाँचा अपरिहार्य रहेको उनको भनाइ छ।

मन्त्री पुनले विभिन्न मन्त्रालय तथा सरकारी निकायअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय पनि गरिएको बताएका छन्। अनुसन्धान र नवप्रवर्तनसँग सम्बन्धित गतिविधिहरूबीच समन्वय अभाव हुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको अवस्थालाई सुधार गर्न उपलब्ध स्रोत, जनशक्ति र लगानीको अधिकतम उपयोग हुने गरी समन्वित कार्यढाँचा निर्माण गरिने उनले बताए।

त्यसैगरी मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, दरबन्दी संरचना तथा कार्यप्रवाह निर्धारणका लागि विस्तृत अध्ययन र सर्वेक्षण गरिने भएको छ। मन्त्रालयलाई कति जनशक्ति आवश्यक पर्छ, कस्तो प्रकारका विज्ञता भएका कर्मचारी चाहिन्छन् र सेवा प्रवाहलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने मन्त्री पुनले जनाएका छन्।

नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई आर्थिक विकास, औद्योगिक रूपान्तरण तथा रोजगारी सिर्जनासँग जोड्ने बहस लामो समयदेखि हुँदै आएको छ। तर अनुसन्धान तथा विकास (आर एन्ड डी) मा न्यून लगानी, विश्वविद्यालय–निजी क्षेत्र–सरकारी निकायबीच कमजोर सहकार्य तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने स्पष्ट नीतिगत संरचनाको अभाव प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ।

यसै पृष्ठभूमिमा स्थापना भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल रूपान्तरण तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा दीर्घकालीन नीति निर्माण र प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

मन्त्री पुनले मन्त्रालयलाई केवल प्रशासनिक संरचनामा सीमित नराखी अनुसन्धान, आविष्कार र नवप्रवर्तनमार्फत देशको आर्थिक तथा सामाजिक विकासमा योगदान दिने संस्थाका रूपमा विकास गर्ने संकेत दिएका छन्। मन्त्रालयको प्रारम्भिक प्राथमिकतामा कानुनी संरचना निर्माण, अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रमको समन्वय, जनशक्ति व्यवस्थापन तथा कार्यप्रणाली निर्धारण रहेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट