Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै सांसदहरूले बजेटको पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका हो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीतलाई ध्यान दिनुपर्ने धारणा राखेका छन् । नेपाली कांग्रेसका सांसद शाहजान खातुनले भन्सार महसुल पहिलाको भन्दा ४० प्रतिशत बढी भएको जनाउँदै भन्सार महसुल अनुमानअनुसार हुने आधार प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले देशको समानुपातिक विकास गर्ने सोच भए पनि विकासको आवश्यकता भएका जिल्ला बझाङ, बाजुरा, डोटी, अछाममा बजेट नपरेकोप्रति चिन्ता व्यक्त गरे । उनले सीमा क्षेत्रमा बजेट छुट्याउने कुरा भएपनि प्राथमिकता नदिएको धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पशुराम तामाङले बजेटले धनी र गरिबबीचको खाडल झन बढाएको बताउँदै पहाडमा जङ्गली जनावर नियन्त्रण गर्नुका साथै पहाडमा आर्थिक गतिविधि बढाउनुपर्ने सुझाव दिए । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बजेट जनताका समस्या समाधान गर्नेतर्फ हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै धरानका जनताले खानेपानी नपाएको विषयमा सदनको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेशकुमार सिंहले बजेटमा शिक्षामा कर लगाइएको विषयप्रति असहमति जनाउँदै मौलिक अधिकारमाथि कर लगाउन नहुने धारणा व्यक्त गरे । उनले कर्मचारीको तलब बढे पनि आमजनताका लागि राहतको प्रभावकारी कार्यक्रम नभएको गुनासो गरे ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले हरेक जिल्लामा नमूना विद्यालयको अवधारणा आउने अपेक्षा गरिएको जनाउँदै बजेटमा त्यस्ता कार्यक्रम नआएका बताइन् । शिक्षामा कर लगाइएको विषयप्रति उनीले आपत्ति प्रकट गर्दै ग्रामीण क्षेत्र र गाउँका किसानका लागि बजेटमा प्रभावकारी कार्यक्रम नआएको भनाइ राखिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद टुकाभद्र हमालले आगामी आवको बजेटले खास महत्वपूर्ण विषय समेट्न नसकेको धारणा राखिन् । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट