१६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वे भावुक, अमेरिका विरुद्धको खेलअघि खेलाडीको आँशु
काठमाडौं । १६ वर्षको लामो प्रतीक्षापछि फिफा विश्वकपमा पुनरागमन गरेको पाराग्वे टोलीमा उत्साह, गर्व र भावनाको लहर छाएको छ। आयोजक अमेरिकासँग हुने पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा त्यसको झल्को स्पष्ट रूपमा देखियो।
पाराग्वेका मुख्य प्रशिक्षक गुस्ताभो अल्फारो ले विश्वकपमा फर्किनु देशका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यसलाई “परम आनन्द र पूर्णताको क्षण” को संज्ञा दिए। उनका अनुसार टोलीका खेलाडीहरूले यो यात्राका लागि ठूलो संघर्ष गरेका छन् र विश्वकपमा फर्किनु सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय बनेको छ।
पत्रकार सम्मेलनमा पाराग्वेका युवा मिडफिल्डर डिएगो गोमेज भावुक बने। बाल्यकालदेखि देशका लागि विश्वकप खेल्ने सपना देखेका उनले आफ्नो भावना व्यक्त गर्ने क्रममा आँशु थाम्न सकेनन्। उनी बोल्न नसक्ने अवस्थामा पुगेपछि प्रशिक्षक अल्फारोले अंकमाल गर्दै सान्त्वना दिएका थिए।
“अहिले शब्दको आवश्यकता छैन, सम्पूर्ण पाराग्वेले यही भावना महसुस गरिरहेको छ,” अल्फारोले भने।
पाराग्वेले विश्वकपको आफ्नो पहिलो खेल आयोजक संयुक्त राज्य अमेरिका विरुद्ध खेल्दैछ। यसअघि नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अमेरिका विजयी भएको थियो। तर पाराग्वे यसपटक विश्वकपमा बलियो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ।
प्रशिक्षक अल्फारोले टोली केवल सहभागिताका लागि नभई प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै देशले अपेक्षा गरेको नतिजा दिलाउन आएको बताएका छन्। उनले विश्व फुटबलमा पाराग्वे सधैं कठिन प्रतिद्वन्द्वीका रूपमा परिचित रहेको पनि उल्लेख गरे।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया