राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ । काठमाडौंको कीर्तिपुर कभर्डहलमा हुने प्रतियोगितमा मोसफलका ३ सहित ८ टोलीको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् । बाँकी काठमाडौं उपत्यकाका आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् । मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए ।
उपाधि विजेताले ५० हजार तथा उपविजेता टोलीले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । मोफसलका एक उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् ।
यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिशमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बररअक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको संघका अध्यक्ष भीमसिंह गुरुङ जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न झन्डै १३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । लिग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइलल खेल असार ६ गते हुनेछ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया