जेनजी आन्दोलनका युवामाथिका मुद्दा खारेज गर्न सांसद रचना खतिवडाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवाहरूमाथि लगाइएका मुद्दा पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलनमा सहभागी भएका युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति सरकारको ध्यानाकर्षण गराइन्।उनले आन्दोलनका क्रममा युवाहरूले गरेको संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान राजनीतिक परिवर्तनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको बताइन्। त्यही आन्दोलनमा सहभागी भएका व्यक्तिहरूमाथि अहिले पक्राउ पुर्जी जारी गर्ने तथा विभिन्न मुद्दामा मुछ्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
सांसद खतिवडाले विशेषगरी काभ्रेको पनौती क्षेत्रमा पछिल्लो समय यस्ता घटनाहरू बढेको दाबी गर्दै सम्बन्धित निकायले निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याइन्।उनले सरकारले विगतमा आन्दोलनसँग सम्बन्धित विवादास्पद तथा झुटा मुद्दाहरू खारेज गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे समेत प्रश्न उठाइन्।
“आन्दोलनमा सहभागी भएका निर्दोष युवाहरूलाई अनावश्यक रूपमा कानुनी प्रक्रियामा अल्झाउने काम हुनु हुँदैन,” उनले संसद्मा भनिन्, “सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै यस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।”
सांसद खतिवडाले युवाहरूको त्याग, संघर्ष र सहभागितालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक अभ्यास र सुशासनका लागि युवाको विश्वास कायम राख्नु आवश्यक रहेको धारणा व्यक्त गरिन्।उनले आन्दोलनसँग सम्बन्धित मुद्दाहरूको निष्पक्ष छानबिन गरी निर्दोषमाथि अन्याय नहुने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया