पटक पटक चिया निर्यातमा भारतिय अवरोध, सरकारलाई चावी बुझाउने उद्योगीको धम्की
काठमाडौं । भारतले पटक–पटक चिया निकासी रोक्न थालेपछि उद्योगीहरुले उद्योग बन्द गरेर सरकारलाई चाबी बुझाउने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले पटकपटकको अवरोधले उद्योगीहरु समस्यामा परेको भन्दै कि सरकारले विकल्प दिनुपर्ने नभए सरकारलाई चाबी बुझाउनुको विकल्प नभएको बताएका छन्। उनले भने, ‘चिया उत्पादकहरुका सबै संगठन मिलेर सरकारलाई सहजीकरणको लागि ज्ञापनपत्र बुझाउन जाने तयारीमा छौं। प्रधानमन्त्रीले भेट दिएनन् भने बाटो कुरेर भए पनि ज्ञापनपत्र बुझाउँछौँ। यति गर्दा पनि सरकारले भारत सरकारसँग कुरा गरेर चिया निकासी खोल्न सकेन भने उद्योग चलाउन सकिने अवस्था रहँदैन। हामी सरकारलाई चाबी बुझाउँछौँ।’
गएको वैशाख १८ गते अनिवार्य प्रयोगशाला परीक्षण रिपोर्ट माग गर्दै भारतले करिब ३ साता नेपाली चियाको निकासीमा रोक लगाएको थियो। त्यसपछि दुई पक्षबीच सहमति भएर चिया निकासी सुरु भएको थियो। तर निकासी सुरु भएको दुई साता नबित्दै भारतीय चिया बोर्डले नेपाली चियाको ल्याब परीक्षण गर्न भन्दै त्यहाँका आयातकर्तासँग नमुना माग गरी ल्याब परीक्षणको रिपोर्ट नआउँदासम्म चिया बिक्री नगर्न निर्देशन दिएपछि भारतीय चिया आयातकर्ताले नेपाली चिया खरिद गर्न छाडेका छन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले चिया निकासी नरोकेको तर त्यहाँका व्यवसायीलाई ल्याब परीक्षणका नाममा दुस्ख दिन थालेपछि उनीहरुले नेपाली चिया खरिद गर्न छोडेको बताए।
नेपालबाट वार्षिक ५ देखि ६ अर्बको चिया निकासी हुने गर्छ। यसको करिब ८० प्रतिशत भारतमा मात्रै हुने गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्ने हो भने नेपालबाट ३ अर्ब ३५ करोडको चिया निकासी हुँदा भारतमा मात्रै २ अर्ब ७१ करोडको सिटिसी चिया निकासी भएको छ।
चालु आर्थिक वर्षको वैशाखसम्म नेपालबाट निर्यात भएको चियामा २८ करोडको ग्रिन टी र ३ अर्ब ६ करोडको सिटीसी ब्ल्याक टी निर्यात भएको छ। चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले पहाडी क्षेत्रको अर्थोडक्स चियाको लागि तेस्रो मुलुकमा बजार खोज्न सकिने भए पनि तराईमा हुने सिटीसी चियाको लागि भारतबाहेकको बजार खोज्न सम्भव नहुने बताए।
चालु आर्थिक वर्षमा नेपालबाट निर्यात भएको ग्रिन टी अष्ट्रेलिया, जापान, इटाली, जर्मनी, हङकङ, कोरिया, रुस, अमेरिका, फ्रान्स, इजरायल लगायतका देशमा २८ करोडभन्दा बढीको निर्यात भएको छ।
सिटीसी चिया भने भारतमा मात्रै २ अर्ब ७१ करोडको निर्यात भएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया