होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा समस्या
काठमाडौं । काठमाडौं उपत्यकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
कीर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका पीडितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्तिविना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन् ।
सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ । सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेका पनि ज्ञापनपत्रमा भनिएको छ ।
पीडितहरूले एक हप्ताभित्र भू–स्वामित्वसहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा पुनः बसोवास गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गएराति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए । बिहानभर पानीसमेत नपाएका उनीहरूले आफैँ पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन् । बिहान खाना नपाएकाले बालबालिका विद्यालय जान नपाएको उनीहरूको गुनासो छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया