Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सर्वोत्तम स्टिल्सले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने


काठमाडौं । सर्वोत्तम स्टिलको सहायक कम्पनी इनर्जी म्यानेजमेन्ट प्रालिले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । कम्पनीले वीरगञ्जमा ३९.२२ मेगावाटका सौर्य ऊर्जा उत्पादन गर्ने योजनासहित प्लान्ट निर्माण गर्न लागेको हो ।

सन् २०२५ को सेप्टेम्बरमा दर्ता भएको कम्पनीले ‘बगाही सोलार पीभी प्रोजेक्ट’ सञ्चालनमा ल्याउने जनाएको छ । सर्वोत्तम स्टिलको पूर्ण स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनीको सोलार प्लान्ट आयोजना निर्माणको पहिलो चरणमा रहेको छ । हालसम्म आयोजनाको १२ प्रतिशत वित्तीय प्रगति भएको छ।

कम्पनीले उक्त आयोजना निर्माण गर्न २ अर्ब १३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीका अनुसार प्रतिमेगावाट उत्पादन गर्न ६ करोड ४७ लाख रुपैयाँ खर्च हुनेछ । कम्पनीले आयोजना निर्माणका लागि ७२:२८ को लगानी अनुपात राखेको छ । हालसम्म प्रवर्द्धकले प्रतिबद्धता जनाएको मध्ये ६७ प्रतिशत रकम व्यवस्थापन गरिसकेको छ ।

कम्पनीले ५९ हजार ८ सय ७८ युनिटका ‘बाइफेसियल मोड्युल पीभी एरे’ सहित सौर्य ऊर्जा प्लान्ट स्थापना गरिरहेको छ । जसमा पहिलो वर्षमा अनुमानित १ प्रतिशत वार्षिक क्षय र त्यसपछिका वर्षहरूमा ०.४ प्रतिशत वार्षिक क्षय हुने अनुमान गरिएको छ । कम्पनीले वार्षिक ऊर्जा उत्पादनको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साथै, ऊर्जा उत्पादनमा कुनै कमी भएमा त्यसको क्षतिपूर्ति गर्ने प्रावधान समेत कम्पनीले राखेको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट