Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

इभी कार आयात घट्यो, पेट्रोल–डिजेल सवारीको माग बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन (इभी) कारको आयात घटेको छ भने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनामा इभी कारको आयात गत वर्षको तुलनामा २ हजार ६०० युनिटले घटेको छ।

आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ जेठसम्म कुल १५ हजार ४६६ युनिट कार, जिप र भ्यान आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १ हजार ७८६ युनिट कम हो। ११ महिनामा १७ हजार २७२ युनिट कार आयात भएका थिए।

यस अवधिमा पेट्रोल तथा डिजेल कारको आयात बढ्दै ४ हजार ५७४ युनिट पुगेको छ, जुन गत वर्ष ३ हजार ७६१ युनिट थियो। तीमध्ये २ हजार ९६ युनिट अनएसेम्बल अवस्थामा आयात भएका छन्।

इभी कारतर्फ ११ महिनामा १० हजार ८९२ युनिट आयात भएका छन्, जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष सोही अवधिमा १३ हजार ४९२ युनिट इभी कार भित्रिएका थिए।

किलोवाट क्षमताका आधारमा हेर्दा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१–१०० किलोवाटका ६ हजार ३५७ युनिट, १०१–२०० किलोवाटका ७९८ युनिट र २०१ किलोवाटभन्दा माथिका १० युनिट इभी कार आयात भएका छन्।

यस्तै, दुई पांग्रे सवारी साधनको आयात भने उल्लेख्य रूपमा बढेको छ। चालु आवको ११ महिनामा २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जुन गत वर्षभन्दा ६३ हजार ७५५ युनिट बढी हो।

यीमध्ये २ लाख २७ हजार ९४१ युनिट पेट्रोल तथा डिजेलबाट चल्ने र २२ हजार २४० युनिट विद्युतीय दुई पांग्रे सवारी रहेका छन्। विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात गत वर्षको तुलनामा ११ हजार ६८९ युनिटले वृद्धि भएको छ।

भन्सार विभागका अनुसार दुई पांग्रे सवारी आयातबाट ठूलो मात्रामा राजस्व संकलन भएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट