Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८० करोड


काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ४२ हजार १७६ पटकको कारोबारमा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँबराबरको ५६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ७९ लाख ४६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट