नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने
काठमाडौं । यर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ ।
नेप्सेले प्रस्ताव गरेअनुसारको सर्किट ब्रेक, कम्पनीको सेयर मूल्यमा उतारचढाव सीमा, कारोबार आदेश गर्न सकिने समयमा केही हेरफेर गरेर सञ्चालक समितिले स्वीकृत गरेको छ ।
कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समयपछि पनि अर्डर गर्न सकिने व्यवस्था गरेको छ ।
नेप्सेको नियमित कारोबार सकिएपछि खरिद/बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ । नेप्सेको नियमित कारोबार बिहान ११ बजे सुरु भई दिउँसो ३ बजे सकिन्छ । संशोधित विनियमावली अनुसार नियमित कारोबार समय बाहेक कुनै पनि समयमा अनलाइन खरिद वा बिक्री आदेश गर्न सकिन्छ ।
नियमित कारोबार बाहेकको समयमा खरिद/बिक्री आदेश दिँदा कम्पनीहरूको सेयर मूल्यको हकमा अन्तिम मूल्यमा २ प्रतिशत बढी वा घटी गरेर मूल्य तोक्न सकिन्छ । नेप्सेले पनि आफ्नो कारोबार प्रणाली सो अनुसार तयार गरिसकेको छ । हाल नेप्सेमा बिहान १० : ३० देखि १० : ४५ सम्म प्रि ओपन कारोबार हुन्छ भने ११ बजेदेखि ३ बजेसम्म नियमित कारोबार हुन्छ । हाल सो समयमा मात्र अर्डर दिन सकिने व्यवस्था छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी, पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्न सुझाएको छ । त्यसैगरी आयोगले दोस्रो बजारमा सेयर खरिदका लागि लगानीकर्ताले भित्र्याएको रकमको एक वर्षमा दुई पटक ५०–५० प्रतिशतसम्म रकम फिर्ता लान सक्ने व्यवस्था गर्नुपर्ने सुझाएको छ । यो व्यवस्था पनि धितोपत्र बोर्डले गरेको खण्डमा पूँजी बजारमा गैरआवसीय नेपालीको लगानी आउने सम्भवाना उच्च रहन्छ ।
संशोधित प्रावधानअनुसार नेप्सेको हालको ३ वटा सर्किट ब्रेकर २ मा झरेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार बोर्डले सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउन लागेको हो ।
कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई इक्वीटी इन्डेक्सको रुपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गर्ने र त्यसलाई बेञ्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने तथा सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।
अहिले कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरिका लागि कारोबार बन्द गर्ने अभ्यास छ ।
बोर्डबाट स्वीकृत भएको नयाँ व्यवस्था अनुसार दुई सर्किटका लागि सीमा ५ प्रतिशत र ८ प्रतिशत तोकिएको छ । कारोबार सुरु भएको पहिलो २ घण्टामा नेप्से सूचक ५ प्रतिशतले घटेमा वा बढेमा सर्किट ब्रेकर प्रयोग हुनेछ ।
त्यसैगरी पहिलो सकर्टिपछि खुलेको बजार ८ प्रतिशते बढेमा वा घटेर सो दिनको कारोबार नै बन्द हुने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ । सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा नेप्सेले प्रस्ताव गरेभन्दा बोर्डले केही परिवर्तन गरेको छ । नेप्से पठाएको प्रस्तावमा सर्किट ब्रेकर लाग्ने दरको सीमा ४, ६, ८ प्रतिशत उल्लेख थियो ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया