Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

तेस्रो त्रैमाससम्म ४१ अर्ब ७९ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौं । नेपालमा चालु आर्थिक वर्षमा तेस्रो त्रैमासिक अवधिसम्म ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् भने सो रकम बराबरको लगानी स्वीकृत गरिएको छ । यस अवधिमा अटोमेटिक रुटबाट ४ अर्ब ९ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ६९ करोड बराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ ।

जसमध्ये अटोमेटिक रुटबाट संख्यात्मक रुपमा सबैभन्दा धेरै ४२६ कम्पनी दर्ता भएका छन् । अप्रुभल रुटबाट १८९ कम्पनी दर्ता भएको देखिन्छ । चैतमा मात्र कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस महिनामा ६१ उद्योग दर्ता भएका छन् ।

यस वर्ष दर्ता भएका अधिकांशको प्रकृति भने साना उद्योग रहेको छ । यस अवधिमा मझौला र ठूला उद्योग ८/८ वटा मात्र दर्ता भएका छन् । चैत महिनामा दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् । क्षेत्रगत रुपमा हेर्दा यस वर्ष सबैभन्दा धेरै संख्यामा सूचना प्रविधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

तर, लगानी प्रतिबद्धता भने अन्य क्षेत्रमा बढी देखिन्छ । विभागका अनुसार सूचना प्रविधिका कुल ३४६ उद्योग दर्ता भएका छन् । जुन ५६ प्रतिशत बराबर हो । पर्यटनका १६४ उद्योग दर्ता भएका छन् । जुन २७ प्रतिशत बराबर हो ।

कृषिका १६, ऊर्जाका २, उत्पादनमूलक उद्योग ३८, खानीका २ उद्योग दर्ता भएका छन् । रकमका आधारमा सबैभन्दा धेरै कृषिमा २२ अर्ब, पर्यटनमा ११ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट