Techie IT
KTM Post
शुक्रबार, २२ जेठ, २०८३

२ अर्ब ७८ करोडको आईपीओ योजना सहित ६ कम्पनी सेबोनको पाइपलाइनमा


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनका लागि थप ६ वटा नयाँ कम्पनीहरूले आवेदन दिएका छन्। विभिन्न क्षेत्रका यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना सहित पाइपलाइनमा प्रवेश गरेका हुन्।

पाइपलाइनमा थपिएका कम्पनीहरूमा हाइड्रोपावर क्षेत्रका सुपर हेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर रहेका छन् भने उत्पादन तथा प्रशोधन क्षेत्रमा राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड समावेश छन्।

राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोक्दै २०८३ साल जेठ ७ गते आवेदन दिएको हो।

त्यसैगरी, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत सोही दिन आवेदन दिएको छ।

युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेर पाइपलाइनमा दर्ता गराएको छ।

यस्तै, प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत २०८३ जेठ ८ गते आवेदन दिएको छ।

हाइड्रोपावर क्षेत्रको सुपर हेवा पावर कम्पनी लिमिटेडले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दिएको छ।

त्यस्तै, रघुगंगा हाइड्रोपावर लिमिटेडले सबैभन्दा ठूलो परिमाणमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासनका लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक तोकेर आवेदन दिएको छ।

धितोपत्र बोर्डका अनुसार यी सबै कम्पनीहरू हाल ‘अनुपालन प्रतिवेदन सहितको आवेदन’ को प्रारम्भिक समीक्षा चरणमा रहेका छन्। बोर्डको अन्तिम स्वीकृति पाएपछि मात्र यी कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन सक्नेछन्।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट