नेप्से घट्ने क्रम जारी, कारोबार रकम ४ अर्ब ८ करोड
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ५६ हजार ८४५ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको ९२ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ८।५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोल जलविद्युत कम्पनीको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।
कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया