म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी । म्याग्दी जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना मानिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजनाको सुरुङ निर्माण कार्य सोमबार अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा धार्मिक विधिपूर्वक पूजाआजा गरी विस्फोटनमार्फत शुभारम्भ गरिएको हो।
आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको परियोजनाअन्तर्गत कुल ५.६ किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ। बाँधस्थल, गाडपार तथा घरापस्थित विद्युत्गृह निर्माण क्षेत्रलगायत चार स्थानबाट एकैसाथ सुरुङ खन्ने तयारी गरिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित पहिरा थाप्लामा बाँध निर्माण हुने यस आयोजनाको मुख्य विद्युत्गृह म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहनेछ। ‘रन अफ द रिभर’ प्रविधिमा आधारित आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन जडान गरिनेछ भने विद्युत्गृह र आउटलेटबीच ४८० मिटर उचाइ अन्तर रहनेछ।
आयोजनाका लागि आवश्यक आठ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाको वित्तीय व्यवस्थापन ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले गर्ने भएका छन्। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर सुरक्षित गरिएको आयोजनाले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले आयोजनालाई जिल्लाकै गौरवको परियोजना भन्दै यसले स्थानीय अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
म्याग्दीको नारच्याङ क्षेत्र पछिल्लो समय जलविद्युत् उत्पादनको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यसअघि नै सो क्षेत्रमा १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ। साथै ९.१४ मेगावाटको सुपर घलेम्दी जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा रहेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया