नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ६ अर्ब ४४ करोड
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५७ स्टकको ६३ हजार ७३२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंकको बण्ड शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड यस दिन ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने १०।२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया